शोकले घरबाहिरसमेत निस्किन सकेका छैनन् विपिनका बुबा

दाइ किशोरका अनुसार विपिनको शवको डीएनए परीक्षण भएर पहिचान भइसकेको इजरायल सरकारले जानकारी गराएको छ । तर वृद्धा हजुरआमालाई विपिनको मृत्युको खबर सुनाइएको छैन ।

आश्विन २९, २०८२

भवानी भट्ट

Due to grief, Bipin's father has not even been able to leave the house

काठमाडौँ — परिवारमा सोमबार बिहानसम्म विपिन जोशी फर्कने आशा थियो । साँझ शव हस्तान्तरण गरिने समाचार आएपछि त्यो आशा शोकमा बदलियो । भीमदत्त नगरपालिका–३ स्थित जोशीको घरमा सन्नाटा छायो । विपिन जीवित फर्किने आशा बोकेको परिवार अब शवको प्रतीक्षामा छ ।

 ‘शव अस्पतालमा राखेको छ, डीएनए परीक्षण भइसकेको छ, यही जानकारी आएको छ,’ विपिनका दाइ किशोर जोशीले भने, ‘योबीचको समय झनै पीडादायी हुने रहेछ, घरपरिवारलाई कसरी सम्हाल्ने, अरूसँग कसरी कुरा गर्ने ?’ विपिनका बुबा महानन्द खबर सुनेदेखि बोल्नै सकिरहेका छैनन् । घर बाहिरसमेत निस्केका छैनन् । 

दाइ किशोरका अनुसार विपिनको शवको डीएनए परीक्षण भएर पहिचान भइसकेको इजरायल सरकारले जानकारी गराएको छ । तर वृद्धा हजुरआमालाई विपिनको मृत्युको खबर सुनाइएको छैन । त्यही भएर घरमा पुग्नेसँग किशोर गोप्य रूपमै कुरा गरिरहेका छन् । ‘अब बहिनी (पुष्पा) र आन्टी (पद्मा) पनि घर फर्कने तयारीमा छन्, एक/दुई दिनभित्रै फर्किन्छन्,’ किशोरले भने, ‘शव कहिले आउँछ भन्ने विषयमा थप जानकारी गर्छौं भनेको छ ।’

विपिनकै रिहाइको पहल गर्न बहिनी पुष्पा र आमा पद्मा असोज ८ मा अमेरिका गएका थिए । त्यसअघि उनीहरू साउन अन्तिम साता इजरायलसमेत पुगेका थिए । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका हुन् । इजरायल पुगेको महिना नपुग्दै ७ अक्टोबर २०२३ मा हमास लडाकुले अपहरण गरेका थिए । हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully