विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

छोराको रिहाइ हुने दिनको व्यग्र प्रतीक्षामा थिए विपिनको परिावर । तर सोमबार जब बन्दी रिहाइको समय आयो, बिहानसम्म हमासले रिहाइ गर्ने २० जनामा विपिनको नाम परेन । यसले जोशी परिवारमा अन्योल बढ्यो । साँझपख विपिनको शव हस्तान्तरण गर्न लागिएको जानकारी घरमा आयो । त्यतिबेला भने सबै आशा सकियो ।

आश्विन २८, २०८२

भवानी भट्ट

Vipin's house is quiet all day, crying in the evening

What you should know

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए ।

फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए । 

घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने सञ्चारकर्मीलाई पनि किशोरले अप्ठेरो हुने भन्दै टारिरहेका थिए ।

इजरायल र हमासबीच युद्धविरामको समाचार सुन्नेबित्तिकै विपिनका बुबा महानन्द निकै उत्साहित देखिन्थे । युद्धविरामसँगै बन्दीहरू रिहाइ हुने खबर सुनेदेखि निकै आशावादी रहेका उनी छोरालाई देख्न पाउनेमा आशावादी थिए । ‘यो दुई वर्षमा हाम्रा लागि एक/एक पल निकै संघर्षपूर्ण रह्यो,’ दुई दिनअघि महानन्दले भनेका थिए, ‘हामीले एक/एक दिन गन्ती गरेका छौं, त्यो निकै पीडादायी छ ।’

उनी सोमबार छोराको रिहाइ हुने दिनको व्यग्र प्रतीक्षामा थिए । तर सोमबार जब बन्दी रिहाइको समय आयो, बिहानसम्म हमासले रिहाइ गर्ने २० जनामा विपिनको नाम परेन । यसले जोशी परिवारमा अन्योल बढ्यो । साँझपख विपिनको शव हस्तान्तरण गर्न लागिएको जानकारी घरमा आयो । त्यतिबेला भने सबै आशा सकियो । जोशी परिवारको दुई वर्षदेखिको प्रतीक्षा पीडादायी बनेर आयो ।

‘अब त पत्याउनै पर्‍यो, हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ,’ किशोरले भने, ‘साँझपख इजरायलबाटै फोन आएको थियो, त्यही बेला शव हस्तान्तरण भइरहेको र त्यसमा विपिनको नाम पनि रहेको छ भन्ने खबर आएको छ ।’ अहिले विपिनको घरमा आफन्तहरू आउन थालेका छन् । बुबा महानन्द भने अहिले कसैसँग पनि कुरा गर्न सकिरहेका छैनन् । 

यसअघि सोमबार बिहान इजरायली सेनाका प्रतिनिधिले किशोरसँगै अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग पनि भिडियो कलमा कुरा गरेका थिए । त्यतिबेला भने रिहाइ हुने नामावलीमा विपिनको नाम नभएको जानकारी गराएको किशोरले बताए ।

‘यसरी विगतमा पनि भिडियो कलमार्फत कुरा हुने गरेको थियो,’ जोशीले भने, ‘आज पनि त्यसरी नै कुरा भएको हो, विगतमा पनि इजरायली प्रधानमन्त्रीको सचिवालयबाट बन्दीसम्बन्धी मामिला हेर्ने कर्मचारी र सेनाका प्रतिनिधिले फोन गरेका थिए ।’

‘यत्तिका दिनसम्म विपिन आउँछ भन्ने आशामै थियौं, अहिले आएर यस्तो खबर आयो,’ विपिनकी छिमेकीसमेत रहेकी भीमदत्त नगरपालिका–३ की वडा सदस्य मीना ठगुन्नाले भनिन्, ‘उनको परिवार मात्रै होइन, हामीलाई पनि अत्यन्तै पीडा भइरहेको छ ।’ उनले विपिनलाई सानैदेखि चिन्थिन् । सानैदेखि साहसी र केही गर्छु भन्ने एक खालको आँट विपिनमा देखेको उनले बताइन् । सोमबार दिनभरि घरबाहिर रहेका विपिनका बुबा महानन्द पनि घरमा आएका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully