विश्वका २ सयभन्दा बढी सम्पदा संरक्षणकर्मी लुम्बिनीमा

इकोमसको ६० औं महासभाद्वारा विश्व शान्तिका लागि आह्वान ।

आश्विन २८, २०८२

मनोज पौडेल

More than 200 heritage conservation workers from the world in Lumbini

What you should know

लुम्बिनी — विश्वभरिका सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्ने विशेषज्ञ र विज्ञको संस्था इकोमस इन्टरनेसनल अर्थात् द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्सले आफ्नो ६०औं वार्षिकोत्सव बुद्ध जन्मस्थल लुम्बिनीमा मनाएको छ ।

इकोमस इन्टरनेसनलका अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियो र सह–अध्यक्ष (को–चेयर) तथा नेपाल च्याप्टरका अध्यक्ष  ज्ञानीन राईले ६० औं वार्षिकोत्सव लेखेको केक काटेपछि वार्षिकोत्सव सम्पन्न भएको हो । 

मंगलबार सम्पन्न चारदिने महासभामा नेपालका साथै ६७ देशका २ सय विदेशी सहभागी थिए । महासभामा पुरातत्वविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ता सहभागी भए ।

महासभाले विभिन्न देशमा भइरहेको द्वन्द्वले सम्पदा ध्वस्त भइरहेकाले विश्व सम्पदा स्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेको छ । त्यस्तै सम्पदा संरक्षणमा उदीयमान विज्ञलाई सक्रिय बनाउने र इकोमसको ६१ औं महासभा २०२६ मा मलेसियाको सारावाकमा गर्ने निर्णय गरेको महासभाका सह–अध्यक्ष (को–चेयर) तथा नेपाल च्याप्टरका अध्यक्ष राईले बताए । 

त्यस्तै वास्तुशिल्पी, इतिहास, सांस्कृतिक सम्पदा सम्बद्ध अन्तर्राष्ट्रिय विशेषज्ञबीच अनुभाव आदान–प्रदान र सांस्कृतिक सम्पदाका स्थायी अस्थायी तत्त्वको संरक्षणका लागि वैज्ञानिक, प्रविधि सिद्धान्त र कार्य प्रविधिबारे तीन समूह बनाएर गहन छलफल भएको महासभाका सह–अध्यक्ष राईले बताए । सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण र सुरक्षाका क्षेत्रमा आएका नयाँ अवधारणा, विषय र प्रविधिका बारेमा पनि छलफल गरिएको थियो ।   

युनेस्कोको सल्लाहकार निकायका रूपमा रहेको इकोमस (अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद्)ले मुख्य रुपमा विश्व सम्पदा सूचीमा अभिलेखका लागि विश्वभरिबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित सम्पदाको मूल्यांकन गरेर विश्व सम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन् ।

यहाँ भएको महासभामा स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदा स्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्द्धन एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रुपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ ।

इकोमसका ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १ सय ३७ देशबाट १२ हजार ७ सय १५ जना विज्ञ सदस्य रहेका छन्  । बुधबारदेखि शनिबारसम्म इकोमसले लुम्बिनीमा चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन पनि गर्दैछ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully