सहरी विकासमन्त्री कुलमान घिसिङले भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको बताए ।
What you should know
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आममानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताएका छन् ।
विश्व बसोबास दिवसको अवसरमा सोमबार आयोजित सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रममा भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गरे ।
‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्यौं, त्यहाँका समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा विकास गरिएका वस्ती खाली देखिए, ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित वस्तीलाई सुरक्षित एवम् व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो,' उनले भने ।
मनसुनजन्य विपद्बाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रुपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानन्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको घिसिङले बताए । अब भौगोलिक म्यापिङ गरी असुरक्षित बस्ती स्थानान्तरण गर्नु पर्ने देखिएको उनको भनाइ छ ।
सहर विकासको गुरुयोजना तयारी गरी कुनै एउटा सहरलाई नमुनाको रुपमा विकास गरी सोहीअनुसार पूर्वाधारका संरचना निर्माण गरिने र त्यसलाई अन्य सहर विकासमा पनि अनुशरण गर्न सकिने उनले बताए । 'जग्गा खण्डीकरण गरी सहर विकास गरिने अभ्यास रहेको छ, अब यसलाई अन्त्य गर्न सहर विकासको एकीकृत गुरुयोजना तयार गरी अगाडि बढ्नु पर्नेछ,' उनले भने, 'नदी किनार सुन्दर नभइकन सहरी सौन्दर्य कायम हुन सक्दैन, त्यसैले काठमाडौं उपत्यकाका नदी करिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ ।'
सडक, बिजुली,टेलिफोन, खानेपानीलगायतका पूर्वाधार ग्रामीण क्षेत्रमा पुगेको तर त्यहाँ बस्ती भने घट्दै गएको उनले बताए ।
ऊर्जामन्त्री घिसिङले आफूले सम्हालेका मन्त्रालय र त्यो मातहतका निकायमा हुने भ्रष्टचार, अनियमितता र ढिलासुस्ती शून्य सहशीलताको नीति लिएर सोहीबमोजिम संलग्नलाई कारबाही गरिने बताए ।
सहरी विकास तथा भवन निर्माण विभागले गरेको कार्यक्रममा मन्त्री घिसिङले गलत काम गर्ने कर्मचारीप्रति निर्ममताकासाथ प्रस्तुत हुने चेतावनी दिए । ठूला सहर विकास गर्नु पर्ने काममा केन्द्रित हुने सहरी विकास मन्त्रालय आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर टुक्रे योजनामा लागेको उनले बताए ।
