‘अहिले अत्यावश्यक घरजग्गा रोक्का र फुकुवा मात्रै सेवा सुरु भएको छ । त्यसका लागि पनि नयाँ स्रेस्ता कायम गर्नुपर्छ ।’
What you should know
काठमाडौँ — भदौ २३ र २४ मा प्रदर्शनका क्रममा विभिन्न कार्यालयहरुमा आगलागीसँगै कलंकी मालपोत कार्यालयमा पनि तोडफोड र आगजनी भयो । कार्यालयको भुई तल्लासहित पहिलो तल्ला जोखिममा रहेकाले अहिले सोही भवनको दोस्रो, तेस्रो र चौथो तल्लाबाट सेवा प्रवाह भइरहेको छ ।
यसै क्रममा मालपोतबाट हुने सेवाहरुमा आन्दोलनपछि के कस्ता समस्याहरु आइपरेका छन् भन्ने विषयमा मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत रविन ढकालसँग कान्तिपुरकर्मी सीमा तामाङले गरेको कुराकानी :
जग्गाधनीले आफ्नो स्रेस्ता जले/नजलेको कसरी थाहा पाउने ?
मालपोत कार्यालय, कलंकीको जग्गाधनी स्रेस्ता सबै जलेको छ । सम्पूर्ण जग्गाधनीले तत्काल नयाँ स्रेस्ता कायम गर्न आउनुपर्दैन । अहिले अत्यावश्यक रोक्का र फुकुवाका लागि मात्रै कार्यालय सञ्चालनमा आएको छ । त्यसैले उक्त सेवा लिने सेवाग्राही मात्रै आउँदा हुन्छ ।
जग्गाधनी स्रेस्ता जलेका छन् भने कसरी कागजात बनाउन सकिन्छ ? त्यसको प्रक्रिया के हुन्छ ?
नयाँ स्रेस्ता कायम गर्न सक्कल पुर्जा, नागरिकता, स्थानीय तहमा कर तिरेको रसिद लिएर आउँदा मन्त्रालयको नीतिगत परिपत्र बमोजिम स्रेस्ता कायम हुन्छ । नियमित कार्यालय सञ्चालन भइसकेपछि वा आफूलाई अनुकुल समयमा जग्गाधनीले स्रेस्ता कायम गर्न सक्नुहुन्छ ।
नयाँ स्रेस्ता बनाउन कति समय र कति शूल्क लाग्छ ?
नयाँ स्रेस्ता कायम गर्दा शूल्क लाग्दैन । अहिले अत्यावश्यक सेवा मात्रै खोलेका छौं । कार्यालय पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन । सेवाग्राहीको चापको आधारमा केही दिन स्रेस्ता कायम गर्न थोरै समय लाग्न सक्छ । आज मात्रै ३/४ सय जना सेवाग्राही आउनुभयो । सर्भर राम्ररी चलेको छैन । कार्यालय पूर्ण सञ्चालनमा आएपश्चात्त प्रमाण मिलेको स्रेस्ता कायम गर्न धेरै समय लाग्दैन । प्रमाण पुगेपछि करिब आधा घण्टामै नयाँ स्रेस्ता कायम हुन्छ ।
तत्काल अंशबन्डा गर्न पाइन्छ कि पाइँदैन ?
हाम्रो कार्यालयको पूर्ण सेवा सञ्चालनमा आइसकेको छैन । त्यसैले अहिले अंशबन्डा गर्न पाइँदैन । कार्यालय सञ्चालनमा आइसकेपछि सुरु हुन्छ ।
बैंकमा जग्गा रोक्का राख्न र राखेका जग्गा फुकुवा गर्न पाइन्छ कि पाइँदैन ?
अहिले रोक्का र फुकुवा मात्रै सेवा सुरु भएको छ । त्यसका लागि पनि स्रेस्ता कायम गर्नुपर्छ । बैंकले रोक्काका पत्र दिन्छ । सेवाग्राहीले नियमित प्रक्रिया पुर्याएर, राजस्व दाखिला गरेपश्चात्त प्रणालीको प्रक्रिया पुर्याएपछि रोक्का हुन्छ । फुकुवाको हकमा रोक्का राखेका संस्थाको प्रतिनिधि र फुकुवाका लागि पत्र आवश्यक पर्छ । त्यसपछि फुकुवा हुन्छ ।
कित्ताकाट गर्न पाइन्छ कि पाइँदैन ?
मालपोत कार्यालय, कलंकी अन्तर्गत पर्ने पालिकाहरुले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण सम्पन्न नगरेकाले हाल कित्ताकाट गर्न मिल्दैन । त्यसैले कार्यालय पूर्ण रुपमा सञ्चालनमा आए/नआए पनि कित्ताकाट बन्द नै हुनेछ । पालिकाहरुले कित्तागत विवरण सहित वर्गीकरण गरेपछि मात्रै कित्ताकाट खुला हुनेछ ।
सेवाग्राहीलाई के भन्नुहुन्छ ?
अधिकांश विदेश जाने विद्यार्थीहरुले भिसाका लागि बैंकमार्फत घरजग्गा रोक्का राख्नुपर्ने रहेछ । उनीहरु मारमा परेको भन्दै धेरै फोन आएकाले अत्यावश्यक अन्तगर्त रोक्का र फुकुवा सेवा सुरु गरिएको हो । पैसा आवश्यक भएर रोक्का राख्ने पनि हुनुहुन्छ । ती बाहेक अन्य सेवाग्राहीले स्रेस्ता कायम गर्न हतार गर्नुपर्दैन । नीतिगत परिपत्रले स्रेस्ता कायम गर्न सहज बनाइदिएको छ । अत्यावश्यक रोक्का र फुकुवा गर्नुपर्ने सेवाग्राही मात्रै हाल यस मालपोत कार्यालय आउनुहोला ।
अन्य सेवाग्राहीहरु स्रेस्ता कायम गर्नकै लागि भनेर आउनु पर्दैन । जुनदिन मालपोतको सेवा लिनुपर्छ त्यही दिन आउँदा हुन्छ । विदेश जाँदै हुनुहुन्छ भने केही दिनमा नियमित कार्यालय सुचारु हुन्छ त्यसपछि स्रेस्ता कायम गर्दा हुन्छ । अनलाइन रेकर्ड सुरक्षित छ । त्यसैले हतारिनुपर्दैन ।
