जिल्लाका तीन निर्वाचन क्षेत्रमा कायम रहेका ६९ महाधिवेशन प्रतिनिधिमध्ये ५० जनाले विशेष महाधिवेशन माग गरेका हुन् ।
What you should know
कपिलवस्तु — कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सके नियमित नसके विशेष महाधिवेशनको माग गरेका बेला कपिलवस्तु कांग्रेसका ७२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।
उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कायम रहेका ६९ महाधिवेशन प्रतिनिधिमध्ये ५० जनाले विशेष महाधिवेशन माग गरेका हुन् । अहिलेको अवस्थालाई मध्यनजर गरी समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिर्वतनसहित नेतृत्व लगायतको विषयमा विशेष निर्णयको अपरिहार्यता रहेको भन्दै पार्टीको विधान २०१७ (संशोधितसहित) को धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षरमार्फत माग गरिएको हो ।
कपिलवस्तु कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल ७७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ३ महाधिवेशन प्रतिनिधिको मृत्यु भएको र ५ महाधिवेशन प्रतिनिधि अन्य पार्टीमा गएकाले अहिले जिल्लामा ६९ जना महाधिवेशन प्रतिनिधि कायम रहेको पार्टी जिल्ला सभापति अब्दुल कलामले बताए ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कायम रहेका २५ महाधिवेशन प्रतिनिधिमध्ये १४ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा कायम रहेका २३ महाधिवेशन प्रतिनिधिमध्ये २० जनाले हस्ताक्षर गरेका छन् । क्षेत्र नम्बर २ मा हस्ताक्षर गर्नेमा महाधिवेशन प्रतिनिधिको संख्या प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र जिल्ला सभापति अब्दुल कलामसहित २० रहेको छ । यस्तै, क्षेत्र नं. ३ मा कायम २१ जना महाधिवेशन प्रतिनिधिमा १६ जनाले हस्ताक्षर गरेका छन् ।
पार्टी यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीले क्षति व्यहोर्नु पर्ने विषयलाई मध्यनजर गरी विशेष अधिवेशनको माग गरिएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । विगतमा जिल्लामा संस्थापन पक्षमा देखिएका अधिकांशलेसमेत पार्टी यथास्थितिमा जाँदा ठूलो क्षति व्यहोर्ने देखिएकाले पार्टीमा समयानुकूल परिर्वतन आवश्यक रहेको भन्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको बताएका छन् ।
हस्ताक्षरपछि जिल्लामा संस्थापन इतर पक्ष दुई तिहाइभन्दा बलियो अवस्थामा देखिएका छन् । जेन–जी पुस्ता पार्टीलाई रूपान्तरणको प्रमुख चालक बनाउने गरी अघि बढ्न आफूले पनि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको महाधिवेशन प्रतिनिधि प्रकाश घिमिरेले बताए । ‘पार्टी र नेपालको भविष्य युवाको काँधमा छ,’ उनले भने, ‘देशको समृद्धिका लागि दलका पाका नेताले सोच्नुपर्ने बेला आएको छ । कांग्रेसका अगाडि अहिले दुइटा विकल्प छन् सक्किने कि सच्चिने?’
जेन जी–आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनको माग गर्दै आएका छन् । त्यसका लागि उनीहरुले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए ।
