प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग सचिवालय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
काठमाडौँ — एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । सचिवालय बैठकले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग अघि सारेको छ ।
‘प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
राष्ट्रपतिले निर्वाचन सम्पन्न गर्न कार्यादेश दिएपछि सरकार राजनीतिक दललाई निषेध गर्ने बाटोमा अघि बढेको उनको भनाइ छ ।
‘सरकारलाई निर्वाचनको सम्पन्न गर्ने कार्यादेश दिए पनि दलहरुलाई निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनुभूत गरेका छौं,’ एमालेको भनाइ छ, ‘सुरक्षाको जोखिम भएका बेला नेताहरुका सुरक्षाकर्मीलाई फिर्ता गरिएको छ । प्रहरीका हतियार लुट्ने ,प्रहरी चौकी ध्वस्त बनाउने अपराधीहरुलाई गृहमन्त्रीको निर्देशनमा रिहा गर्दा सुरक्षा जोखिम बढाएको छ ।’
एमालेले दलहरुले निर्बाध ढंगले गतिविधि गर्ने अवस्था नभएकोले निर्वाचनमा जाने अवस्था नभएको उनको भनाइ छ । ‘निर्वाचन हुने आधार भयो भने विचार गर्ने कुरा हो । सरकारले पहिले विश्वसनीय आधार सृजना गरोस् न,’ ज्ञवालीले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन । विश्वसनीय आधार देखिएको छैन ।’
एमालेले राष्ट्रियता, लोकतन्त्र र संविधान पक्षधर दलहरुलाई एकताबद्ध अघि बढ्न आग्रह गरेको छ ।
