देशभरका २८ कारागार र ९ वटा बाल सुधारगृहबाट आन्दोलनका बेला १३ हजार ५५३ जना भागेका थिए । अझै झन्डै ५ हजार कैदीबन्दी बाहिरै रहेकाले समाजमा त्रास बढेको छ ।
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच भागेका कैदीबन्दीबाट समाजमा त्रासको वातावरण सिर्जना भएको छ । भागेकामध्ये केही फेरि अपराधमा संलग्न भएपछि सुरक्षा चुनौती बढेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ५ हजार बाहिरै रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट आन्दोलनका बेला कैदीबन्दी भागेका थिए । तीमध्ये भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेका थिए । कारागारमा हुनुपर्नेमध्ये ८ हजार ६७० र सुधारगृहका ३४१ जना फर्किइसकेका छन् ।
‘फिर्ता आउन बाँकी रहेकाहरुको खोजीका लागि प्रत्येक प्रदेश प्रहरी कार्यालयबाट अभियान नै चलाइरहेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे भन्छन्, ‘छिट्टै भागेका जति सबै कारागारभित्रै हुनेछन् ।’
०००
ललितपुरस्थित नख्खु कारागारबाट २४ भदौमा भागेर घर आइपुगेका काभ्रेको पनौती–१२, गागलका ३३ वर्षीय सन्तबहादुर तामाङको श्रीमती ३२ वर्षीया जमुना तामाङसँग विवाद भयो । परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै उनले २ असोजको राति कुटपिट गरेर जमुनाको हत्या गरे । त्यसपछि उनी नख्खु कारागारमा उपस्थित भए । सन्तबहादुर जबर्जस्ती करणी गरेको अभियोगमा चार वर्षअघि कारागार चलान भएका थिए ।
महोत्तरीको जलेश्वर कारागारबाट २४ भदौमा भागेका गौशाला–११ का ३० वर्षीय सञ्जय महतो चोरी गरेको मोटरसाइकल, मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ परे । उनी यसअघि पनि चोरी मुद्दामै पुर्पक्षका लागि कारागारमा थिए । डाँका मुद्दामा कारागारमा रहेका बलबा नगरपालिका–९ का मञ्जुर राइन कारागारबाट भागेपछि सोही वडाबाट चोरीका सामग्रीसहित पक्राउ परे ।
फरार कैदीबन्दी पुनः आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि प्रहरीले उनीहरूको खोजी अभियान तीव्र पारेको छ भने स्थानीयलाई सतर्क रहन र शंकास्पद गतिविधि देखे तुरुन्त जानकारी गराउन आह्वान गरिएको छ ।
२४ भदौमै दाङको तुलसीपुर कारागारबाट भागेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका २२ वर्षीय खिमबहादुर विकले ११ असोजको राति स्थानीय ५३ वर्षीय गौतम सार्कीलाई खुकुरी प्रहार गरे । सार्कीको जाहेरीका आधारमा उनलाई गत शनिबार दंगीशरण गाउँपालिका–२ सातखुटीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । उनी यसअघि कर्तव्य ज्यान मुद्दामा २५ वर्षे कैद सजाय भोगिरहेका थिए ।
तुलसीपुर कारागारबाट २४ भदौमा १ सय २४ र भोलिपल्ट १ सय २९ जना कैदीबन्दी मूल गेट तोडेर भागेका थिए । भागेकामध्ये ७८ जना अझै फरार रहेको कारागार प्रमुख गिरबहादुर सेजुवालले बताए । ‘फरारमध्ये अधिकांश कर्तव्य ज्यान, जबर्जस्ती करणी र लागूऔषध कारोबारका थिए,’ उनले भने ।
०००
सुनसरीको झुम्का कारागारबाट २४ भदौको राति १ हजार ५ सय ७५ कैदीबन्दी भागेका थिए । तीमध्ये ७ सय जना अझै फरार छन् । कारागार प्रशासनका अनुसार प्रदर्शनकारीले राति साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० हाराहारी कैदीबन्दी भगाएका थिए । केहीबेरमा अन्य कैदीबन्दी पनि निस्किए ।
फरार कैदीबन्दीलाई तत्काल फर्किन प्रहरीले आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो । केही दसैं मनाएर फर्किए । जेलर सुवास लामिछानेका अनुसार फरार ७ सय जनामध्ये अधिकांश जबर्जस्ती करणी मुद्दाका थिए । ‘फरार कैदीबन्दीलाई २० असोजसम्म कारागार फर्किन आग्रह गरिएको थियो तर अधिकांश आएनन्,’ लामिछानेले भने ।
०००
चितवनस्थित भरतपुरको कारागारमा ४ सय ९१ पुरुष र ४० महिला कैदी र २ सय ३ पुरुष र ६ जना महिला थुनुवा (बन्दी) थिए । उनीहरूमा आश्रित बालबालिकासमेत गरी ७ सय ४३ जना २५ भदौको बिहान कारागारबाट बाहिरिए । तीमध्ये १ सय ५६ कैदीबन्दी अझै नफर्केको भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले जानकारी दिए । भरतपुर कारागारबाट भागेका ६ पुरुष र २ महिला कैदीबन्दी भने अन्य कारागारमा छन् ।
भरतपुर कारागारमा वन्यजन्तु अपराधसित जोडिएका कैदीबन्दीको संख्या धेरै हुने गरेको छ । कारागार प्रशासनका अनुसार यहाँ दुर्लभ वन्यजन्तु गैंडा मारेर त्यसको अंगको ओसारपसार तथा कारोबार गरेको अपराधमा संलग्न दुई थुनुवासहित ४६ जना थिए । तीमध्ये दुवै थुनुवा र २९ कैदी कारागारको सम्पर्कमा आएका छन् । एक कैदी तनहुँमा पक्राउ परेका थिए । गैंडा मुद्दाका मात्र १४ कैदी सम्पर्कमा नआएको सूचना अधिकारी ढुंगानाले जानकारी दिए ।
०००
२४ भदौमा महोत्तरीस्थित जलेश्वर कारागारबाट फरार भएका ५ सय ७६ कैदीबन्दीमध्ये २ सय ७८ जना फर्केका छन् । फर्किएकामध्ये १२ जना कैद पूरा गरी रिहा भएका छन् । २ सय ९८ जना अझै सम्पर्कमा आएका छैनन् । कारागार कार्यालयले पटक–पटक फर्किन आग्रह गरे पनि नफर्किएको कारागार प्रशासनका नायब सुब्बा रविनचन्द्र ठाकुरले बताए ।
कारागारबाट भागेका अधिकांश गम्भीर आपराधिक मुद्दामा संलग्न छन् । यस कारागारमा अपहरण गरी कर्तव्य मुद्दाका ६, कर्तव्य ज्यान मुद्दाका ६०, ज्यान मार्ने उद्योगका ६५ जना, अपहरण तथा जबर्जस्ती करणी मुद्दाका २३, जबर्जस्ती करणीका १ सय १४, चोरीसम्बन्धी कसुरका ३६, डाँका–चोरीसम्बन्धी मुद्दाका ५८ र हातहतियारसम्बन्धी ६ जनासहित ५ सय ७६ कैदीबन्दी फरार भएका थिए ।
०००
२४ भदौमा कैलाली कारागारबाट फरार भएका ६ सय ६६ कैदीबन्दीमध्ये ३ सय २ जना अझै फरार छन् । फरारमध्ये ६० जनाभन्दा बढी जघन्य अपराधका कैदीबन्दी छन् । यसबीचमा आफैं फर्केका र सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारागार फर्काइएकाको संख्या ३ सय ६४ छ । कर्तव्य ज्यान, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र जबर्जस्ती करणी, आत्महत्या दुरुत्साहन अभियोगका फरार कैदीबन्दीको संख्या १ सय ४१ रहेको कैलाली कारागारका निमित्त प्रशासक ज्ञानेन्द्र ओझाले बताए ।
सुदूरपश्चिममा डोटी, अछाम र बाजुरा कारागारबाहेक अन्य ६ वटै जिल्ला कारागार र डोटीस्थित बालसुधार गृहबाट कैदीबन्दी फरार भएका थिए । प्रदेश प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार सुदूरपश्चिममा फरार कैदीबन्दीको संख्या १ हजार ४ सय ५८ थियो । तीमध्ये बुधबारसम्म १ हजार ६ जना फर्काइएको छ भने अझै ४ सय ५२ जना फरार छन् । कैलाली कारागारबाट ३ सय २, कञ्चनपुरबाट १ सय १०, डडेलधुराबाट ५, दार्चुलाबाट ७, बझाङमा १२, बैतडीमा १ र बालसुधार गृह डोटीबाट १५ जना फरार रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
०००
१३ असोजको कुरा हो । २५ वर्षीय आकाश मगरले खुकुरी प्रहार गरेर काठमाडौंको मनमैजु बस्ने सुरज तामाङको हत्या गरे । आकाश प्रकाउ परेपछि मात्रै थाहा भयो उनी त जेन-जी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेको कैदीमध्येका एक थिए । आकाश लुटपाट तथा डकैती मुद्दामा जेल परेका थिए ।
- अर्जुन सुवेदी (सुनसरी), सन्तोष सिंह (महोत्तरी), रमेशकुमार पौडेल (चितवन), अर्जुन शाह (धनगढी), ज्योती श्रेष्ठ (काभ्रे) र दुर्गालाल केसी (दाङ)
