कांग्रेस, एमाले र माओवादीका प्रमुख तीन नेतालाई बिदा गरौं : गगन थापा

निर्वाचनको वातावरण बनाएर, संविधान र कानुनको संशोधन गर्न, भ्रष्टाचार र कुशासन हटाउन सँगै मिलेर काम गर्न जेन–जी अन्दोलनका अगुवालाई संवादका लागि थापाले आह्वान गरेका छन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Let's bid farewell to the three main leaders of Congress, UML and Maoists: Gagan Thapa

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले दस वर्षदेखि नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चलेको ‘म्युजिकल चेयर’ नै राजनीतिको प्रमुख समस्या रहेको टिप्पणी गरेका छन् । उनले कांग्रेस, एमाले र माओवादीबाट यी तीनवटै नेताहरूलाई बिदा गरेर नयाँ नेतृत्वमार्फत पार्टीका नीति, गति र संस्कृति बदल्नुपर्नेमा जोड दिएका छन् ।

महामन्त्री थापाले आइतबार जारी गरेको भिडियो एक सन्देशमा २३ र २४ भदौको आन्दोलनलाई स्मरण गर्दै ती घटनापछि नेपाल फेरि पहिलेकै अवस्थामा फर्कन नसक्ने बताए । ‘कतिपय साथीहरूले भाद्र २२ गते त सँगै काम गरिरहनुभएको थियो नि भन्नुहुन्छ । हो त्यतिबेला बदल्न चाहेका थियौं, सकेनौं । नियमभित्र बाँधिएका थियौं । नियमलाई मान्यौं, बाँधियौं । तर, २३ र २४ गतेपछि कुनै नियम बाँकी छ ? संसद् विघटन भएको छ । संसद्ले बनाएको सरकार छैन । भाद्र २३ गतेअघि र पछिको नेपाल अब एउटै हो ? यो कुरा बुझ्नुपर्छ कि पर्दैन ?’

सभापति देउवामाथि भौतिक आक्रमण हुँदासमेत सहानुभूति नदेखाएको भन्ने टिप्पणीको थापाले खण्डन गरे । आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नै सबैभन्दा पहिला विज्ञप्ति निकालेर सभापतिमाथि भएको आक्रमणको निन्दा गरेको स्मरण गर्दै थापाले भने, ‘सभापतिमाथि मात्रै होइन । कसैमाथि पनि भौतिक आक्रमण गर्ने कुरा कदापि स्वीकार हुन्न । हामी पनि कुटपिट र आक्रमणको अपमान सहेर आएका हौं । नेताहरूलाई सम्मान गरौं । नेताहरूलाई सहानुभूति पनि राख्यौं । सँगसँगै कांग्रेस, एमाले र माओवादीका नेताहरूले तीनवटै नेताहरूलाई अब ‘नो मोर’ भनौं । किन्तु परन्तु (इफ–बट) केही नभनी छाड्नुपर्छ भनौं । अब तपाईंहरू घर बस्नुपर्छ । तपाईंहरूबिना पार्टी चलाउनुपर्छ । यसो भएपछि मात्रै आम मानिसबीच कुरा गर्न सकिन्छ ।’

उनले नेतृत्व बदल्नासाथ सबै बदलिन्छ भन्ने नसोच्न आग्रह गरे । नेतृत्व बदलेपछि मात्रै पार्टीका मति, गति र संस्कृति बदल्ने बाटो खुल्ने उनले बताए । ‘हामीले पनि छोड्न परे छोडौंला । हामी अनुपयुक्त भए अरू नयाँ साथीहरू आएर चलाउलान् । तर, कम्तीमा सुधारको यो ठाउँ प्रारम्भ गर्नैपर्छ । नत्र आजका दिनमा अरूसँग संवाद गर्न सक्दैनौं,’ भिडियो सन्देशमा थापाले भनेका छन् ।

उनले आम मतदाताहरूले कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलाई भोट दिनेहरूबाट पनि यिनै नेताहरू हटाउनुपर्ने माग भइरहेको बताए । ‘आम मानिसको कुरा छाडौं । कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्ने मतदातालाई सोध्यौं भने पहिला तिम्रो आफ्नै पार्टीको टाउको हटाऊ, विश्राम लिन लगाऊ भनेर भन्छन् । यसमा कुनै द्विविधा छैन । तर, प्राविधिक कारण देखाएर उहाँहरू हट्न चाहिरहनुभएको छैन । हामीले हटाउन सकिरहेका छैनौं ।’

उनले निर्वाचनको वातावरण बनाएर, संविधान र कानुनको संशोधन गर्न, भ्रष्टाचार र कुशासन हटाउन सँगै मिलेर काम गर्नुपर्ने भन्दै जेन–जी अन्दोलनका अगुवाहरूलाई संवादका लागि आह्वानसमेत गरेका छन् । शासकीय स्वरूप, निर्वाचन प्रणालीलाई सुधार गर्न, राज्यका संस्थाहरूलाई प्रभावकारी बनाउन, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न मिलेर अघि बढ्न पनि थापाले आह्वान गरेका छन् । ‘हाम्रो नीति, नियम बदल्नका लागि तपाईं हामी मिलेर काम गर्नुपर्छ । आउनुहोस्, बसौं छलफल गरौं । कोही पनि शत्रु छैन । शत्रु भनेको भ्रष्टाचार र बेरोजगारी हो । आत्मविश्वास गुमाएकाहरूलाई माथि उठाउनु छ, पुनर्निर्माणमा जुट्नु छ । तपाईं–हामीबीच संवाद नभए बदनियत राख्नेहरूले उत्तेजना फैलाएर स्थिति झन् डामाडोल बनाउन सक्छन्,’ थापाको भनाइ छ ।

कान्तिपुर

Link copied successfully