मखमली मालाको मूल्य निर्धारण गर्न किसानको माग

तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Farmers' demand to determine the price of velvet garlands

What you should know

काठमाडौँ — फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् ।

तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

गुन्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनका अनुसार १० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुने गरेको उनले बताए ।

किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गरिन् । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनको भनाइ छ । 

किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनका लागि व्यापारी घरमा नै आउने उनको भनाइ छ । उनले यस वर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् । 

फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरू महँगोमा पर्ने समस्या खडा भएको बताएका छन् । 

कान्तिपुर

Link copied successfully