व्यापारी तथा अन्य कसैले भित्र्याएको, बिक्री गरेको र पड्काएको पाइए कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
काठमाडौँ — सल्यानमा पटकाजन्य वस्तु बिक्री-वितरण र पड्काउन प्रहरीले प्रतिबन्ध लगाएको छ । मनोरन्जनका नाममा विशेषगरी तिहारका बेला पटका पड्काउने गरिएको पाइन्छ । तर यसले मानव स्वास्थ्यमा असर पुर्याउनुका साथै दुर्घटना पनि निम्त्याउँछ ।
पटकाजन्य वस्तु बाहिरी जिल्लाबाट आयातमा रोक लगाउन जिल्लाको मुख्य नाका कपुरकोट, सल्लीबजार र कालिमाटीमा जाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए । नाकामा कडाइका लागि थप सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ ।
नाकाबाट व्यापारी तथा अन्य कसैले भित्र्याएको, बिक्री गरेको र पड्काएको पाइए कानुनबमोजिम कारबाही गरिने उनले बताए । 'पटकाजन्य वस्तुले मानव स्वास्थ्यमा असर गर्ने मात्र नभई दुर्घटना र आगजनीको समेत खतरा हुने भएकाले जिल्लाका सबै व्यापारीलाई बिक्री-वितरण नगर्न सल्लाह तथा सुझाव दिइरहेका छौं,' उनले भने ।
