ढोरपाटनका मेयर नेपालीलाई सम्पत्ति शुद्धीकरण मुद्दा, डेढ अर्ब बिगो दाबी

२ वर्षदेखि १५ वर्षसम्म कैद सजाय, सहकारीमा रहेको ४० लाख सेयर, नगद रकम १ लाख २० हजार र नेपालीका नाममा दर्ता कायम कायम जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी

आश्विन २६, २०८२

यज्ञ बञ्जाडे

Asset laundering case against Dhorpatan mayor Nepali, claim of one and a half billion bego

What you should know

काठमाडौँ — बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले २३ भदौमा १ अर्ब ५८ करोडको बिगो दाबीसहित बागलुङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ । 

प्रतिवादीहरू देवकुमार नेपालीसमेतले १ हजार ५ सय ४३ जना बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३ सय १४ रुपैयाँ सो सहकारी संस्थाका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, सदस्य रूपा विक, सदस्य झगबहादुर शाहीको समेत निर्देशनमा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङकका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकोटका शाखा प्रबन्धक अनिल नेपालीले बचतकर्ताको बचत अपचलन गर्ने उद्देश्यले कृत्रिम खाता खोली रकम जम्मा गरेको विभागले फेला पारेको छ ।

उक्त खाताबाट अर्को कृत्रिम खातामा पैसा रकमान्तर गरी उक्त रकमलाई कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखाई नक्कली ऋण प्रवाहको माध्यमबाट प्रतिवादीहरूले संस्था तथा बचतकर्ताको रकम अपचलन गरेको विभागको निष्कर्ष छ ।

उक्त रकम हिसाब मिलान गर्ने प्रयोजनका लागि इमेज सेभिङ्समा पैसा रकमान्तर गरी सोही खाताबाट पैसा निकालेर अपचलन गरेको विभागले जनाएको छ । उक्त प्रक्रियामा राज्यलाई भुक्तानी गर्नुपर्ने राजस्व रकमसमेत हिनामिना भएको, सहकारीले नियमनकारी निकायमा पेस गर्नुपर्ने चौमासिक विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदनसमेत पेस नगरेको अभियोगपत्रमा उल्लेख छ ।

संस्थाले तोकिएको भन्दा बढी रकम ऋण प्रवाह गर्दा जमानत वा धितो नराखेको, संस्थाका सदस्य, व्यवस्थापकले रकम हिनामिना गरेको, नातेदारलाई कानुनविपरीत ऋण दिइएको, संस्थाको सेयर वा बचत आफूखुसी परिचालन गरी हानिनोक्सानी पुर्‍याएको, नियमविपरीत लगानी गर्ने उद्देश्यले रकम उठाएको, अध्यक्ष नेपालीले आफ्नो र श्रीमतीका नाममा घरजग्गालगायतमा लगानी गरेको पनि विभागको भनाइ छ । यसका आधारमा प्रतिवादी नेपालीले बिगो १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार ३ सय ९१ बराबरको सम्पत्ति शुद्धीकरण गरेको भन्दै विभागले उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्न सिफारिस गरेको हो ।

नेपालीकी पत्नी एवं प्रतिवादी छेला नेपालीलाई बिगो ६ करोड ९८ लाख ८० हजार रुपैयाँ र उनको गाउँमा विभिन्न स्थानमा रहेको १७ कित्ता जग्गा जफतको मागदाबीसहित कैद र जरिवानासमेतको मागदाबी गरिएको छ ।

इमेज सहकारीमा आबद्ध चित्रबहादुर भण्डारी, लालमती रोका, शक्ति किसान, डोरबहादुर परियार, सुनील नेपाली, लक्ष्मी सेन सुनार, रूपा विक, झगबहादुर शाही, अनिता बुढामगर, सुरेन्द्र बोहरा, सजिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल र सन्तोष नेपालीले समेत वारदातमा संलग्न मुख्य अभियुक्त देवकुमार नेपालीलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न गराउन सहयोग र सहजीकरण गरी मतियारको भूमिका खेलेर कसुरजन्य काम गरेको भन्दै रिटमा उनीहरूलाई पनि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अभियुक्त नेपालीलाई हुने सजायको आधा माग दाबी गरिएको छ ।

सहकारी ठगीकै आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपाली इमेज सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसपछि भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर उनको समूहले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । नेपाली एमालेबाट दुई पटक मेयरमा निर्वाचित भइसकेका थिए । गत जेठमा मेयर नेपालीको घरजग्गा तत्काल लिलामी नगर्न उच्च अदालत पोखरा, बागलुङ इजलासले बैंकलाई आदेश दिएको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा अदालतले बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको हो । आदेशमा उनको घरजग्गा लिलाम गर्ने कार्य नगर्नू, नगराउनू भन्ने उल्लेख छ ।

सहकारी ठगी मुद्दामा नेपाली जेलमा छन् । उनी जेलमा भएका बेला कसरी घरजग्गा बिक्री भयो भन्दै सहकारी पीडितले बैंकको बागलुङ शाखा घेराउ गरेर दबाब दिइरहेका बेला अदालतको आदेश आएको हो ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully