अन्नपूर्ण संरक्षण क्षेत्रमा २२४ प्रजातिका सुनाखरी

सुनाखरी खाना र औषधीका रूपमा प्रयोग गरिन्छ । यसका फूल आकर्षक देखिने भएकाले यसले प्रकृतिमा सौन्दर्य थप्ने गर्छ ।

आश्विन २६, २०८२

आश गुरुङ

224 species of goldfish in Annapurna Conservation Area

What you should know

लमजुङ — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा २ सय २४ प्रजातिका सुनाखरी (अर्किड) अभिलेख गरिएका छन् । यीमध्ये इलाका संरक्षण कार्यालय भुजुङ (लमजुङ) को क्षेत्रमा मात्रै क्षेत्रमा मात्रै १ सय ८२ प्रजातिका सुनाखरी पहिचान गरिएको छ ।

एक्यापले अध्ययन अन्वेषण गर्ने क्रममा भेटिएका २ सय २३ प्रजातिका सुनाखरीलाई गतवर्ष (सन् २०२४) अभिलेखीकरण गरेकोमा यसवर्ष थप एउटा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । योसहित एक्याप क्षेत्रमा पहिचान गरिएका सुनाखरी प्रजातिको संख्या २ सय २४ पुगेको एक्याप प्रधान कार्यालय पोखराले जनाएको छ ।

पछिल्लो समय सन् २०२५ मा एक्यापको इलाका संरक्षण कार्यालय भुजुङ (लमजुङ) क्षेत्रमा सुनाखरी(वैज्ञानिक नाम बल्बोफाइलम बाइसेटम) भेटिएको एक्यापले जनाएको छ ।

एक्याप इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख (संरक्षण अधिकृत) प्रमोदराज रेग्मीका अनुसार वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक वासुदेव न्यौपाने र प्राकृतिक स्रोत संरक्षण सहायक विज्ञान जिसीले गरेको खोज–अन्वेषणका क्रममा नयाँ प्रजातिको सुनाखरी भेटिएको हो । करिब १,९५० मिटर उचाइको जंगलको एउटा रुखमा नयाँ प्रजातिको सुनाखरी भेटिएको उनले बताए । सुनाखरी भेटिएको क्षेत्र क्व्होलासोथार गाउँपालिका ४, ६ र ८ को सीमाक्षेत्र ढुंगाखानी आसपास पर्छ । यो ठाउँ तामुदेखि ङ्हृयोजे जाने बाटोमा पर्छ ।

224 species of goldfish in Annapurna Conservation Areaवरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक न्यौपानेका अनुसार नेपालको लागि नयाँ नभए पनि यो सुनगाभा अन्नपूर्ण संरक्षण क्षेत्रको लागि नयाँ हो । वनस्पतिविज्ञ डा. प्रवीण भण्डारीले पहिचान गरेपछि एक्यापले केही साताअघिमात्रै सामाजिक सञ्जाल फेसबुकमा अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनगाभा भेटिएको सार्वजनिक गरेको थियो ।

एक्याप प्रधान कार्यालय पोखराले अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटिएका २ सय २३ प्रजातिका सुनाखरीलाई समेटेर गतवर्ष ‘अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरु’ पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरेको थियो ।

एक्यापका वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवाको नेतृत्वमा ६ जनाको टोलीले गरेको अध्ययन अन्वेषण अनुसार एक्यापले अन्नपूर्णको जैविक विविधता अद्यावधिक गरिरहेको छ । अहिले माथिल्लो मनाङ र माथिल्लो मुस्ताङमा पनि सुनाखरीको खोजी भइरहेको उनले बताए । ‘नयाँ सुनाखरी भेटिने क्रम जारी छ । अझै नयाँ प्रजातिका सुनाखरी भेटिन सक्छन्,’ उनले भने ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङको १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र ७ हजार ६ सय २९ वर्गकिलोमिटरमा फैलिएको छ । एक्याप सन् १९८६ (वि.सं. २०४३) मा घान्द्रुकबाट सुरु भएको नेपालको पहिलो र सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो । एक्यापले ८ सय मिटरदेखि ४ हजार ५ सय मिटर उचाइसम्मका क्षेत्रमा सुनाखरीको खोज अन्वेषण गरेको जनाएको छ ।

सुनाखरी फूल फुल्ने एकदलीय बिरुवा प्रजातिमा पर्छ । नेपालमा ५ सय बढी प्रजातिका सुनाखरी रहेको विभिन्न अध्ययनले देखाएको एक्यापका अधिकारी बताउँछन् । जमिन (भुइँ), माटो जमेको ठूला ढुंगा, सडेगलेका रुख, पाखापहराको चेपमा यो उम्रिन्छ । गुणकारी वनस्पतिमा पर्ने सुनाखरी वैशाखदेखि भदौसम्म फुल्ने गर्छ । भुजुङ क्षेत्रमा पहिचान भएको नयाँ प्रजातिको सुनाखरी भदौमा फुल्ने वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक न्यौपानेले बताए ।

सुनाखरी खाना र औषधीका रूपमा प्रयोग गरिन्छ । यसका फूल आकर्षक देखिने भएकाले यसले प्रकृतिमा सौन्दर्य थप्ने गर्छ । सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पति हो । यसलाई संसारैभर संकटापन्न वनस्पति मान्दै अनुसूची १ र २ मा समावेश गरेको छ । नेपाल सरकारले २०७३ यता अर्किड्स संकलन तथा निर्यात अनुमति दिएको छैन । औषधीय गुण भएकै कारण कतिपय प्रजातिका सुनाखरीको अवैध तस्करी हुँदै आएको सम्बन्धित विज्ञ बताउँछन् । हिमालदेखि तराईसम्म पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने विज्ञ बताउँछन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully