राष्ट्रपति पौडेलमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएकाले थप परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ ।
काठमाडौँ — जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ । राष्ट्रपतिसँग छलफल गर्न भन्दै २२ जना जेन-जी अगुवा बिहान शीतलनिवास पुगेका थिए ।
अचानक राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो ।
उनमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । 'अवस्था स्थिर छ । थप परीक्षणका लागि अस्पतालमै भर्ना गरेर राखेका छौं,' स्रोतले भन्यो ।
२३ र २४ भदौको जेन–जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्ता लगायतमा संलग्न जेन–जीहरु शीतलनिवास पुगेका थिए ।छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी थिइन् ।
छलफलमा रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ, मिराज ढुंगाना लगायत थिए । भित्र छलफल चलिरहँदा कतिपय युवाले भने आफूहरु वार्तामा जान नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
