नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्न सकिन्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत राष्ट्र बैंकको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल सम्वत् प्रयोग गरिने आश्वासन दिएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

All of Nepal can be mentioned in Nepali notes: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्न सकिने बताएकी छन् । 

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल सम्वत् ११४६ अवसरमा मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुख अतिथिको निमन्त्रणा पत्र बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले उक्त धारणा राखेकी हुन् । 

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत राष्ट्र बैंकको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल सम्वत् प्रयोग गरिने आश्वासन दिएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए । 

'५ सयको नोट छपाईका लागि विधिवत् रुपमा गइसकेकोले अब निष्काशन हुन बाँकी नोटदेखि नेपाल सम्वत् प्रयोग गर्न सकिन्छ,' प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै अध्यक्ष श्रेष्ठले भने । 

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री कार्कीले नेपाल सम्वत् नेपालको मौलिक सम्वत् भएको चर्चा गर्दै यो सबैको सम्वत् भएकोले नेपाल सम्वत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिई माल्यार्पण कार्यक्रममा सहभागी हुने वचन दिएकी छन् । 

प्रतिनिधिमण्डलले नेपाल सम्वत्‌को व्यापकताका लागि सरकारको निर्णयबमोजिम हरेक मन्त्रालय, विभागलगायत प्रभावकारी प्रयोगमा सरकारीस्तरबाट नै अनुगमन गर्न प्रधानमन्त्री कार्कीसमक्ष आग्रह गरेको जानकारी प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए । 

प्रतिनिधिमण्डलमा संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठ, पूर्वअध्यक्षहरु श्यामकृष्ण मानन्धर र चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष सुरेश प्रधानलगायत सम्मिलित थिए ।

कान्तिपुर

Link copied successfully