विशेष अदालतमा पतञ्जलीको जग्गा विवाद, टेरामक्स लगायतका भ्रष्टाचारका मुद्दाहरु विचाराधीन छन् । हालै मात्र लिची बगान जग्गा प्रकरणमा दुई मन्त्रीसहित सात जनाविरुद्ध दायर गरेको मुद्दा पनि विचाराधीन छ ।
काठमाडौँ — विशेष अदालत काठमाडौंले कात्तिक ११ गतेदेखि नियमित सुनुवाइमा फर्कने भएको छ । शुक्रबार बसेको फूलकोर्ट(पूर्ण बैठक)ले छठपछि नियमित सुनुवाइमा फर्कने निर्णय गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए ।
२४ भदौमा भएको आक्रमणबाट विशेष अदालत प्रभावित भएको थियो । विशेष अदालतको भवनहरू पूर्ण रुपमा नजले पनि तोडफोड र लुटपाट भएका कारण सुनुवाइ रोकिएको थियो ।
त्यस्तै, सर्वोच्च अदालतका साथै विशेष अदालतको सर्भरमा पनि क्षति पुर्याएका कारण नियमित पेसी हुन नसकेको हो । विशेष अदालतमा २४ भदौको तोडफोड र आक्रमणका कारण १ करोड १० लाख क्षति भएको प्रारम्भिक विवरण अदालतले तयार पारेको छ । ५ वटा गाडी अनि चार वटा मोटरसाइकलमा आगलागी र तोडफोड भएको छ ।
हाल विशेषले अभियोगपत्र दर्ता गर्ने, म्याद थप गर्ने अनि अख्तियारको जरुरी पक्राउ पुर्जी जारी गर्ने काम गरी रहेको छ । त्यस्तै, अख्तियारले अभियोगपत्रसँगै आरोप पेस गरे थुनछेक गर्ने काम पनि गरिरहेको यज्ञराज रेग्मीले बताए ।
विशेष अदालतमा पतञ्जलीको जग्गा विवाद, टेरामक्स लगायतका भ्रष्टाचारका मुद्दाहरु विचाराधीन छन् । हालै मात्र लिची बगान जग्गा प्रकरणमा दुई मन्त्रीसहित सात जनाविरुद्ध दायर गरेको मुद्दा पनि विचाराधीन छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दा विशेषले सुनुवाइ गर्ने गर्दछ । विशेष अदालतमा ६ न्यायाधीशले दुई वटा इजलासमा यस्ता मुद्दा सुनुवाइ गर्दछन् ।
