४२ जिल्लामा फैलियो जापानिज इन्सेफलाइटिस, ३१ जनाको मृत्यु

१० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो । मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।

आश्विन २४, २०८२

रासस

Japanese encephalitis spread in 42 districts, 31 people died

What you should know

काठमाडौँ — जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र मृत्यु भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । '१० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो,' गौतमले भने, 'मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।' 

उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ । 

'विगतको तथ्याङ्क हेर्दा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ,' उनले भने, 'लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ ।' उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेशमा तीन, बागमतीमा पाँच, गण्डकीमा पाँच, लुम्बिनीमा ११, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ । 

इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ । नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो । 

खोप शाखा प्रमुख डा गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिन थालेको बताउनुभयो । त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो । 

रासस

Link copied successfully