विज्ञ भन्छन् : एङ्करिङ र नेटिङ नै तुइनखोलाको पहिरोको स्थायी समाधान हो
What you should know
चितवन — तुइनखोलाको पहिरोले यो पटक दसैंमा काठमाडौंबाट बाहिरिनेलाई दिनु दुःख दियो । नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व-पश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक हो । अरु समयमा दिनमै १० हजारभन्दा बढी सानाठूला गाडी गुड्ने यो सडकमा दसैंका बेलामा झन् चाप बढ्छ ।
तर यहीँ बेला तुइनखोलाको पहिरोले घण्टौं गाडी थुनिए । भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले भदौ २८ देखि असोज १८ गतेसम्म तुइनखोलाको पहिरो र पहिरो नआउँदा पनि जोखिमलाई ख्याल गरेर नारायणगढ–मुग्लिन सडक १ सय ६० घण्टा बन्द भएको बताए । ‘१४ घण्टा सुरक्षाका कारण रातमा बन्द भयो । नभए पहिरोकै कारण २१/२२ दिनमा १ सय ४६ घण्टा गरेर कुल यो सडक १ सय ६० घण्टा बन्द भयो,’ इन्जिनियर घिमिरेले भने ।
असोज १८ यता तुइनखोलामा पहिरो गएको सुन्नु परेको छैन । तर इन्जिनियर घिमिरे अनुरोध गर्छन्, ‘तुइनखोला आइपुग्दा अलि होसियार भएर सकेसम्म गाडी रोकेरै ढुंगा खसे/नखसेको विचार गरेर पार हुनुपर्छ ।’ २०/२२ दिन जस्तो लगातार पहिरो खस्दा तुइनखोला आडको पहाड नाङ्गै भएको छ । इन्जिनियर घिमिरेले पटक-पटक गरेर सडक आडको पहाडको करिब २८ हजार घनमिटर ढुंगामाटो तल खसेको बताए ।
पाखामा अड्केका खस्न सक्ने ठूलासाना ढुंगा अझै देखिन्छन् । ‘ती ढुंगा र पत्रे चट्टान तत्कालै खस्ला जस्तो त छैन । तर सावधान हुनै पर्छ,’ घिमिरेले भने । तुइनखोलामा असोज ३ गते ठूलो पहिरो खस्यो । उक्त पहिरोका कारण करिब ४५ घण्टापछि असोज ५ गते साँझबाट एकतर्फी खुलेको सडक असोज ७ गते दिउँसो ठूलो पहिरो खसेपछि फेरि ठप्प भयो । यी दुई पहिरोका कारण यो सडक झन्डै १ सय ५ घण्टा बन्द भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
स्थायी समाधान खोज्न अध्ययन
डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले तुइनखोलाको पहिरोको स्थायी समाधान खोज्न अध्ययन सुरु भइसकेको बताए । सडक विभागले पठाएको विज्ञ मधुसुदन आचार्यको टोली असोज २१ गते पहिरोस्थलमा आएको थियो । उक्त टोली अध्ययन गरेर फर्किइसकेको र टोलीले दिने निष्कर्षका आधारमा रोकथामको काम अगाडि बढ्ने लामिछानेले जानकारी दिए । तुइनखोलामा तीन वर्ष अगाडिदेखि पहिरोको समस्या सुरु भएको हो ।
दुई वर्षअघि असारमा तुइनखोलाको सोही ठाउँमा पहिरो खसेर लगातार २८ घण्टा बाटो अवरुद्ध भएको थियो । गत वर्ष खासै ठूलो समस्या नआएको तुइनखोलामा यो पटक ठूलो पहिरो आयो । तुइनखोलाको पहिरो रोकथामका लागि गत वर्ष नै अध्ययन भएको थियो । सोही अध्ययनका आधारमा रोकथाम योजना पनि बनेको थियो । ‘एङ्करिङ र नेटिङ नै तुइनखोलाको पहिरोको स्थायी समाधान हो । गत वर्ष नै हामीले गर्ने भनेका थियौं तर काम सुरु हुन सकेन । यो वर्ष झनै ठूलो पहिरो गएको छ । क्षेत्रफल र पहरिोको अवस्था पनि फरक भएको छ त्यसैले थप अध्ययन गरेर योजना बनाउन लागेको हो,’ प्रमुख लामिछानेले भने ।
भदौसम्म तुइनखोलामा सडक आडको पहाडबाट ७० मिटर माथिदेखि पहिरो खसिरहेको थियो । सडक क्षेत्रमा पहिरोको लम्बाइ १ सय ६० मिटर थियो । अहिले लम्बाइ त्यति नै भए पनि उचाइ झन्डै दोब्बर भएको प्रमुख लामिछानेले बताए । त्यसैले खर्च पनि बढ्न सक्ने सम्भावना छ । पहिरो नियन्त्रणको कामका लागि तुइनखोलाको काममा मात्रै गत वर्षसम्म लगभग ४/५ करोड रुपैयाँ लागत रहने अनुमान थियो । पहिरोको आकार बढेसँगै लागत दोब्बर पनि हुन सक्ने उनले बताए ।
सडकमा खस्ने खतरा रहेका खुकुला चट्टान र माटोहरुलाई उपयुक्त समय मिलाएर तल झार्ने योजना सडक कार्यालयको छ । खुकुलो चट्टान र माटो सफा गरेर तल झारेपछि एङ्करिङ र रक नेटिङको काम सुरु गर्ने प्रमुख लामिछानेले बताए । बाहिर देखिएका चट्टान सडकमा नखसुन् भनेर त्स्ता चट्टानलाई छेडेर बलियो रड र कंक्रिट राखेर पहाडको कडा भागसँग जोड्ने कामलाई एङ्करिङ भनिन्छ ।
त्यसैगरी साना ढुंगालाई तल झर्नबाट रोक्न धातुको विशेष नेटले पहाडी पाखो ढाक्ने विधिलाई नेटिङ भनिन्छ । यी दुई काम गरेपछि मात्रै तुइनखोलाको समस्या नबल्झने डिभिजन सडक कार्यालयका प्रमुख लामिछानेको भनाइ छ । काम सुरु गरेपछि सम्पन्न हुन ६ देखि ९ महिना लाग्न सक्छ । त्यसैले यो हिउँदमा काम सुरु भए आउँदो बर्खा तुइनखोला हुादै सुरक्षित यात्रा गर्न सम्भव भएको उनले बताए ।
अन्यत्र पनि छ पहिरोको जोखिम
यो पटक तुइनखोलाको पहिरोले धेरैको ध्यान ताने पनि नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम यही ठाउँमा मात्रै छैन । यो ठाउँमा नभएर अन्य ठाउँमा पनि छ पहिरोको जोखिम । तुइनखोलाभन्दा लगभग तीन किलोमिटर पश्चिम नारायणगढतर्फ नाम्सी पुल नजिकको जोखिम पनि कम छैन । यो ठाउँमा ढुंगाले लागेर एक जनाको ज्यानै गयो । सडक कार्यालयका एक जना प्राविधिक घाइते भए ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार भदौ ३१ गते साँझ नाम्सी पुल नजिक पहाडबाट खसेको ढुंगा तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको बसमा बर्जियो । जसका कारण बसमा रहेकी लमजुङकी ऐश्वर्या कामीको ज्यान गयो । तुइनखोलामा लगातार पहिरो जाँदा सफा गर्न कस्सिएका मेसिन अपरेटरलाई पनि नम्सीमा ढुंगाले लागेको थियो ।
डिभिजन सडक कार्यालयले दिएको जानकारी अनुसार असोज ८ गते नाम्सी पुलमा ढुंगाले लागेर मेसिन अपरेटर राजु मगर घाइते भएका थिए । ‘नाम्सीमा पनि समस्या छ । तुइनखोलाको जत्रो ठूलो त हैन तर त्यहाँ पनि पहिरो नियन्त्रणको काम हुनु पर्छ,’ डिभजन सडक कार्यालयका प्रमुख लामिछानेले भने । तुइनको जस्तो ठूलो र नाम्सीको जस्तो मध्यम खालको नभए पनि अन्य एकाध ठाउँमा पनि पहिरो खसेको छ । ‘यो पटक कालीखोलामा पनि एक पटक पहिरो आयो । १७ किलोतिर पनि समस्या छ । रुख बुट्यान भए पनि स–सानो पहिरो खस्न सुरु गरेको ठाउँ थप एकाध छन् । सबैतिर यो वर्ष नियन्त्रणको काम हुन्छ,’ लामिछानेले भने ।
साना ठूला यात्रु बस मात्रै नभएर काठमाडौंका लागि मालवाहक ट्रक गुड्ने मुख्य सडक नै यहीँ हो । त्यसैले नारायणगढ–मुग्लिन सडकलाई राजधानी काठमाडौंको जीवन रेखा अर्थात लाइफलाइन भन्ने गरिन्छ । त्यसैले यो सडकमा पहिरो गएर आवागमन ठप्प हुँदा यात्रुलाई मर्का पर्ने मात्रै हैन राजधानीको आपूर्ति व्यवस्था पनि प्रभावित हुने गर्छ ।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउन २०७२ सालदेखि विस्तारको काम सुरु भएको थियो । सडक चौडा बनाउन पहाड काटेर विस्तारको काम सुरु भएसँगै पहिरोको समस्या पनि सुरु भएको हो । कुल ३६ किलोमिटर लामो यो सडकमा विस्तारको कामपछि २९ ठाउँमा पहिरोको समस्या उत्पन्न भएको थियो । त्यो बेलाको समस्या हाल लगभग निराकरण भएको छ ।
तर सडकबराबरका फराकिला पुल बनाउन थालेपछि फेरि पुलका लागि पहाड ताछ्न थालियो । २०७६ चैतमा नारायणगढ-मुग्लिन सडकमा १५ वटा फराकिलो पुल बनाउन सुरु भएको थियो । तुइनखोलामा पनि सोही समयमा पुल बनाउन सुरु भएको थियो । तुइनखोलाको पुलको नारायणगढतर्फको पहाड कमजोर भएका कारण त्यहाँ पहिरोले दुख दिँदै आएको हो ।
