सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा अख्तियारको अनुसन्धानमा तानिए

महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको छ ।

आश्विन २३, २०८२

मातृका दाहाल

In the case of gold smuggling, former speaker Mahara was dragged into the investigation of the authority

What you should know

काठमाडौँ — चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको छ । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन । पछि पुनः अनुसन्धानमा तानिएका उनी अनुसन्धानकै क्रममा हाजिरी जमानीमा छुटेका थिए । दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका थिए । पहिलो पटक मुद्दै चलाइएन, दोस्रो पटक ५ चैत २०८० मा उनी कपिलवस्तुबाट पक्राउ पक्राउ परेका थिए । पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएकामा अनुसन्धानमै रहँदा त्यसको ५ दिनपछि ९ चैतमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो । त्यसपछि अनुसन्धान नै रोकिएकामा अख्तियारले अहिले पुनः अनुसन्धान अघि बढाइएको हो ।

स्रोतका अनुसार महरासँग शुक्रबार दिनभर अख्तियारका अनुसन्धान अधिकृतले बयान लिएका छन् । ‘राज्यको विभिन्न ओहदामा रहेर सार्वजनिक पदधारण गरेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेकामा जिल्ला सरकारी वकिल कार्यालयबाट पनि यस विषयमा अनुसन्धान गर्न भनी अख्तियारमा पत्र आएको थियो, त्यसपछि यस प्रकरणमा जोडिएका धेरै व्यक्तिसँग बयान भइसकेकामा पूर्वसभामुख महरासँग शुक्रबार बयान लिइएको हो,’ अख्तियार स्रोतले भन्यो । स्रोतका अनुसार महराले अख्तियारको बयानमा आफ्नो दावाजिनसँग चिनजान रहेको र चिनेजानेकै हिसाबले भन्सारका कर्मचारीलाई भेप छुटाउन फोन गरेको स्वीकार गरेका छन् ।

चिनियाँ नागरिक दावाजिन वाङसँग मिलेर अवैध सुन तस्करी गराएको आरोपमा २०७९ मा महरा अनुसन्धानमा तानिएकामा सीआईबीले उनको संलग्नता पुष्टि नभएको निष्कर्षसहित विमानस्थल भन्सारका कर्मचारी र गिरोह तथा महराका छोरा राहुललाई मात्रै प्रतिवादी बनाएर फरकफरक दुईवटा मुद्दा दायर गरिएकामा अहिले पूर्वसभामुख महरा र तस्करीमा जोडिएका कर्मचारीहरु अख्तियारको अनुसन्धानमा तानिएका हुन् ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थि । भेप जाँचपास गर्दा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढाइएको थियो । सामान करिब डेढ महिना भन्सार गोदाममै थन्किएकामा त्यही अवधिमा भन्सारकै कर्मचारीलाई हातमा लिएर गिरोहले सुन रहेका भेप चोरेर बजारबाट अरु भेप ल्याई गोदाममा राखेको थियो । सामान साटफेर हुनुअघि सुन भएको भेप छुटाउन पूर्व सभामुख महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारी, तस्करका सहयोगी र बिचौलियासँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य बाहिरिएको थियो । महराले त्यस क्रममा चिनिया तस्कर दावाजिन वाङले ल्याएको भेप खुलाउन जोडबल गर्दै तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल र अरु कर्मचारीलाई फोन र भेटेरै दवाव दिएका थिए ।

पछि भन्सारले नियन्त्रणमा लिएका भेप लिलामी प्रक्रियामा लैजान सुरसार गरेपछि गिरोहकै एक व्यक्ति आएर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेपछि भन्सार प्रमुख पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेको थियो । त्यसबेला गिरोहले सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको खुल्यो । अनिमात्रै भेपमा सुन लुकाएर ल्याएको विषयमा सीआइबीबाट अनुसन्धान सुरु भएको थियो । भन्सारमा भेप रोकिएपछि दुबईबाट आएको तेस्रो दिनमै भरियाका रुपमा रहेका ली १३ पुसमा विदेश भागेका थिए । यता दावाजिन वाङ, महराका बाबुछोरा, भन्सारकै कर्मचारी लोकेन्द्र पौडेल र अर्का व्यक्ति श्याम शाहसबीच पटक पटक कुराकानी भएको तथ्य पनि बाहिरिएको थियो । प्रतिनिधि सभामा सभामुखसहित पूर्व उपप्रधान एवं गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री रहीसकेका महरा भने सत्ता र शक्तिको आडमा अनुसन्धानबाट बाहिरै रहेका थिए ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पनि भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य, प्रमाणले ‘कसुरदार होइन भन्न नसकिने’ भन्दै पुनः अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । आयोगकै प्रतिवेदनले किटान गरेपछि महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएकामा सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा छुटेका थिए । सुन लुकाएर ल्याइएको भेप छुटाउमा महरा बाबुछोराले मात्रै भन्सारका कर्मचारीसहितसँग २ सय ५६ पटक फोन/मोवाइलमा कुराकानी गरेको तथ्य ३ वर्ष अघि नै बाहिरिएको थियो । त्यस क्रममा दावाजिन वाङले मात्रै बाबु महरासँग ११ पटक र उनका छोरा राहुलसँग २८ पटक कुराकानी गरेको विवरण बाहिरिएको थियो ।

त्यतिबेला भेपमा लुकाएर करिब ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीले नै अनुसन्धान प्रतिवेदनमा समेटेपनि मुद्दा लैजाँदा भने दुबैजनालाई प्रतिवादी बनाइएको थिएन ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully