भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा साढे ३ करोड मात्र संकलन

सरकारले खोलेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म २ सय ६५ जनाले करिब ४ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Collection of only 3.5 million in physical infrastructure reconstruction fund

What you should know

काठमाडौँ — भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म ३ करोड ५२ लाख ४९ हजार ४ सय ४२ रुपैयाँ मात्र संकलन भएको छ ।

सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो ।

जसअनुसार व्यक्ति र संस्था गरेर बुधबारसम्म २ सय ६५ जनाले करिब साढे ३ करोड रुपैयाँ बराबर सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार बिहान थप ५० लाख रुपैयाँ बराबरको चेक प्राप्त भए पनि यो समाचार तयार पार्दासम्म त्यो बैंकमा जम्मा भइसकेको थिएन । यो समेत जोड्दा कोषमा जम्मा भएको सहयोग रकम करिब ४ करोड रुपैयाँ पुग्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

कोषमा हालसम्म सहयोग गर्नेहरूमा संस्था कम र व्यक्ति धेरै रहेका छन् । रकमका आधारमा सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्म संकलन भएको छ भने एक दर्जनभन्दा बढी व्यक्तिबाट एक रुपैयाँ प्राप्त भएको स्रोतले जनाएको छ ।

प्रदर्शनका क्रममा सरकारी र निजी दुबै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन । यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले सरकारी र निजी क्षेत्र गरी १ खर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक देखिएको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ८० अर्बभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ ।

यता सरकारले क्षतिको विवरण र पुनर्निर्माण लागतका लागि अध्ययनको काम सुरु गरेको छ । सो कामका लागि ४५ दिनको समय दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully