बीपी राजमार्गमा आज रातभर काम गरिँदै, शुक्रबारबाट एकतर्फी संचालनमा ल्याउने तयारी

असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले चार किलोमिटर सडक बगाएको थियो ।

आश्विन २३, २०८२

विमल खतिवडा

BP Highway is being worked on overnight tonight, preparing for one-way operation from Friday

What you should know

काठमाडौँ — बाढी, पहिरोले क्षति गरेको बीपी राजमार्गमा बिहीबार (आज) रातभरि काम हुने भएको छ ।

अहिले राति संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने,सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश,ठेक्का लिने निर्माण कम्पनीका कर्मचारीलगायत टोली राजमार्गमा खटिएको छ । 

असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले चार किलोमिटर सडक बगाएको थियो । 'अहिले हामी फिल्डमै छौं,चारसयबेंसी खण्डमा काम भइरहेको छ,' संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले भने, रातभरि काम गर्दैछौं,मेसिन उपकरणमा कुनै समस्या नआए शुक्रबार दिउँसोबाट एकतर्फी राजमार्ग संचालनमा आउँछ । उनका अनुसार पहिलो चरणमा एकतर्फी राजमार्ग संचालनमा आउने र त्यसपछि दुइतर्फी बनाइँदै लगिने छ । अहिले चारसयबेंसी,चिउरीबास र माथिल्लो माम्तीमा काम भइरहेको छ । 

गत वर्ष असोजमै यो राजमार्गमा करिब १२ किलोमिटर सडक बाढीले बगाएको थियो । सडक स्थायी रूपमा निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि एक वर्षसम्म अस्थायी मर्मतकै भरमा सवारी सञ्चालन गरिएको थियो ।

बर्खा सकिएर दसैंपछि स्थायी निर्माण थाल्ने तयारीमा ठेक्का लगाउने निकाय थिए । यही बेला पुनः अस्थायी संरचना बाढीले बगाइदिएका कारण यातायात ठप्प बनेको हो । अहिले पनि अस्थायी डाइभर्सन बनाएर राजमार्ग संचालन गर्न लागिएको हो । अहिले यस खण्ड भएर गुड्ने सवारी साधनलाई सिन्धुलीको खुर्कोटबाट रामेछापतिर डाइभर्ट गरिएको छ । रामेछापको मन्थली, दोलखाको चरिकोट, मुडे, सिन्धुपाल्चोकको खाडीचौर, दोलालघाट–काभ्रे हुँदै पूर्वबाट आउने सवारीसाधन राजधानी भित्रिने गरेका छन् । यात्रुले साँघुरो सडका कारण ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully