उनको शरीरका विभिन्न भागमा गोली र छर्रा लागेर भएको नौ वटा घाउ अझै पूर्णरूपमा निको भइसकेको छैन । पेटमा गाडिएको गोलीको छर्रा निकालिएको छैन ।
What you should know
धनकुटा — २३ भदौको जेन–जी आन्दोलनका क्रममा दमकमा गोली लागेर घाइते भएका धनकुटा–५ ठूलोघर टोलका २० वर्षीय अविनाश राई यति बेला घाउको आलो खाटा लिएर घर फर्किएका छन् । उनको शरीरका विभिन्न भागमा गोली र छर्रा लागेर भएको नौ वटा घाउ अझै पूर्णरूपमा निको भइसकेको छैन । पेटमा गाडिएको गोलीको छर्रा निकालिएको छैन ।
स्नातक तह अध्ययनको तयारीमा रहेका राई झापाको कमल गाउँपालिका–५ स्थित मामाघर गएका थिए । दमक चोकमा जेन–जी आन्दोलन हुने थाहा पाएपछि आफू पनि सहभागी भएको उनी बताउँछन् । नाराबाजीसहित भीड दमक नगरपालिका कार्यालय पुगेको थियो । त्यस क्रममा पालिकाको भवनमा आगजनी हुन थालेपछि अकस्मात् गोली चलेको आवाज सुनेका उनले त्यसपछि धेरैबेर आफू कुन अवस्थामा रहेको पत्तै पाएनन् । होस खुल्दा शरीर रक्ताम्य थियो । पेट, छाती, पाखुरा, तिघ्रालगायत ठाउँमा गोलीको छर्रा गाडिएको थियो ।
दमकस्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा उनको थप उपचार भयो । त्यहाँ सात ठाउँको शल्यक्रिया गरेर गोलीको छर्रा र पाखुराको गोली निकालियो । अस्पतालमा आठ दिनको बसाइपछि आफन्तकोमा आराम गरेपछि गत साता घर फर्किएका छन् । उनको पेटमा गाडिएको छर्रा भने अझै निकालिएको छैन । ‘पेटमा गहिरो गरी गाडिएकाले जोखिम हुने भन्दै डाक्टरले निकाल्न नमिल्ने भनेपछि यत्तिकै छोडिएको छ,’ उनले भने ।
यति बेला भविष्यप्रति निकै चिन्ता लागेको उनी बताउँछन् । आफू आठ वर्षको हुँदा बुबा दिवसले पनि भ्रष्टाचार र बेथितिविरुद्धकै आन्दोलनमा ज्यान गुमाएको उनी सुनाउँछन् । आमा योगरानी वैदेशिक रोजगारका लागि दुबई गएको १३ वर्ष बितिसक्यो । आमा गएदेखि घर फर्किएकी छैनन् । बुबाआमाको सामीप्यबाट वञ्चित भएका उनी बजू, फुपू अजू र ठूलोबुबा सुन्दरसँग बस्दै आएका छन् ।
पेटको छर्राले आफ्नो भदालाई भविष्यमा कष्ट हुन सक्ने भन्दै उनकी फुपू अनुले चिन्ता व्यक्त गरिन् । अविनाशलाई पनि उस्तै चिन्ता छ । ‘सोच्दै नसोचेको घटनाबाट पीडित भएँ’, उनले भने । अस्पतालमा उपचार र शल्यक्रियाबाहेक औषधि र खाने व्यवस्थाका लागि दस हजारभन्दा बढी आफ्नै खर्च लागेको उनले सुनाए । सरकारले उपचार निःशुल्क गरिदिने भनेकाले फलोअप उपचार पनि निःशुल्क गरिनुपर्ने उनको भनाइ छ । ‘देशको भविष्यका लागि आफूहरूको रगत व्यर्थ खेर नजाओस्’ उनले भने, ‘हामी जस्ता युवाले स्वदेशमै रोजगारी र उज्ज्वल भविष्य देख्न पाऊँ भन्ने कामना छ ।’
