संयमित रहन सबै पक्षलाई मानव अधिकार आयोगको आग्रह

मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको भन्दै यस्तो आग्रह गरेको हो ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Human Rights Commission urges all parties to exercise restraint

What you should know

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन्जी पुस्ताका समूहले आगामी दिनमा गर्ने  प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभावलाई ख्याल गर्न आग्रह गरेको छ। 

यस्ता कार्यक्रमले मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको भन्दै यस्तो आग्रह गरेको हो ।

२३ र २४  भदौमा भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको आयोगले जनाएको छ। 

टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जाने भन्दै आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु सबैको कर्तब्य हुने आयोगले भनेको छ। 

 सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत  दायित्व हुने आयोगले भनेको छ। 

‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ’ आयोगले भनेको छ ‘ साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल  र समूहलाई आग्रह गर्दछ ।’

कान्तिपुर

Link copied successfully