हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको बुधबार बिहान ६ देशका आठ महिला सफल आरोहण गरेका हुन् ।
What you should know
दोलखा — रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको ‘यलुङ रि’ हिमालको शिखरमा एकै पटक आठ महिलाले सफल आरोहण गरेका छन् । हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको ६ देशका आठ महिला आरोहण गरेका हुन् ।
उनीहरु बुधबार बिहान ८ बजेर २ मिनेटमा एकै पटक ‘यलुङ रि’को चुचुरामा पुगेको उनीहरुका पथ पदर्शक अन्तर्राष्ट्रिय हिमालका आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताए ।
'महिला पर्वतारोहणको सहकार्य' नाम दिइएको उक्त टोलीले अन्तर्राष्ट्रिय रुपमा हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवद्धन गर्ने लक्ष्यसहित सुरुमा ५ हजार ९ सय ३० मिटर अग्लो रामदुङ आरोहण गर्ने तालिका थियो ।मौसममा आएको बदलीका कारण अत्याधिक हिमापतले रामदुङ आरोहण हुन नसकेको उनले बताए । अभियानमा नेपाल, अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तान र ताजिकिस्तानका ९ जना महिलाको सहभागिता रहेको थियो ।
जसको नेतृत्व अमेरिकाकी पथ प्रदर्शक महिला डानिका गिल्बर्टले गरेकी थिइन् । उनीहरुमध्ये अफगानिस्तानकी नेकी हैदरी भने स्वास्थ्यका कारण ४ हजार मिटर पुगेर झरकी थिइन् । उनीहरुलाई हिमाल आरोहणमा अन्तर्राष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पा र मिङमा छिरि शेर्पाले सघाएका थिए । सामूहिक रुपमा एकै पटक युलुङ रिको शिखरमा पुग्दा निकै रोमाञ्चक भएको आरोहणमा सहभागी ताजकास्तानकी मरियम शारिपोभाले बेदिङबाट फोनमा बताइन् ।
‘महिलाहरु सामूहिक रूपमा साहसिक कार्य गर्न सक्छन् भनेर यो अभियानमा जोडिएकी थिए,’ उनले भनिन्, ‘हिमाल आरोहण गर्न सक्छौं, हिमाल आरोहणमा महिलालाई सहभागिता गराएर प्रवर्द्धन गर्ने उद्देश्यमा सफल भएका छौं ।’ बुधबार बिहान १ बजेबाट ‘यलुङ रि’ आरोहण गरेर ७ घण्टामा चुचुरामा पुगिएको उनले बताइन् ।
अन्तर्राष्ट्रिय रुपमा पर्वतारोहणमा महिला सहभागिता बढाउन र हिमाल आरोहणमा महिलालाई प्रवद्धन गर्ने लक्ष्य लिइएको अन्तर्राष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताए । रामदुङ हिमाल आरोहण गर्न तालिमका लागि टोली उक्त क्षेत्र पुगेपनि मौसम बदलीका कारण समस्या भएको उनले बताए । हाल उक्त क्षेत्रमा २ देखि ३ फिटसम्म हिमपात भएकाले तालिम त्यहाँ हिमाल आरोहणको तालिम दिएर ‘यलुङ रि’ आरोहण गर्न प्रोत्साहन गरिएको उनले बताए ।
‘हिमाल आरोहण विरलै रुपमा एकै पटकमा आठ जना महिला आरोहण सहभागी हुन र सफल आरोहण गर्नु निकै सुखद पक्ष हो,’ उनले भने, ‘हिमाल आरोहणमा महिलाहरुले साझा साहसिक कार्य गर्न सक्ने र सीप विकास गर्न सक्नेसहित हिमाल आरोहण प्रवर्धनमा यो उपलब्धि रहेको छ ।’ हिमाल आरोहणमा महिला सहभागिता प्रवर्द्धन गर्ने अभियानमा पाकिस्तानकी अमिना हनिफ र सिद्दिका हनिफ, अफगानिस्तानकी नेकी हैदरी, ताजिकिस्तानकी मरियम शारिपोभा र फुरुग शार्कर्ममाडोभा भारतकी सेतान डोल्मा र नेपालकी सिर्जना तामाङ सहभागी थिए ।
यस्तै, अमेरिकी पथ प्रदर्शक महिला डानिका गिल्बर्टले टोलीको नेतृत्व गरेकी थिइन् । उनीहरुलाई हिमाल आरोहण अघि दुई हप्ता रामदुङ हिमाल क्षेत्रमा प्राथमिक उपचार र उद्धार प्रशिक्षणको पनि आरोहणमा सहभागी महिलालाई तालिम दिइएको थियो । महिला सहभागिता बढाउनुका साथै साहसिक, शिक्षा र अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकीसंस्था हमदेलीले सहयोग गरेको उनले बताए । खाङ्ग्री ट्रेकले अनुमति लिइदिने र व्यवस्थापनमा सहयोग गर्नुका साथै नेपाल राष्ट्रिय पर्वतीय पथ प्रदर्शक संघबाट लक्मे तामाङ पथ प्रदर्शक रूपमा सहयोगी बनेको उनले बताए ।
‘हिमालमा आरोहणमा महिलालाई आकर्षित गर्न र पथ प्रदर्शक तयार पार्न यो अभियान निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘महिलाहरु पनि साहसिक हुन्छन् र हिमाल आरोहण गर्न सक्छन् भन्ने प्रवर्द्धन गर्ने उद्देश्य यो अभियानले लिएको छ, यलुङ रि आरोहण गरेर अभियान सफल भएको छ ।’ यो पछाडि यसै क्षेत्रका अन्य हिमालमा पनि महिलाको सहभागिता बढाउने र हिमाल प्रवर्द्धनमा सहयोग गर्न आरोहणलाई निरन्तरता दिइने उनले बताए । नेपालको पर्यटन क्षेत्र र त्यसमाथि हिमाली क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले अभियानमा जोडिएको उनले बताए ।
