विपद् व्यवस्थापन प्राधिकरणको निष्कर्ष : सरकारको पूर्वतयारी र सबैको सक्रियताले विपद्‌बाट ठुलो क्षति हुन पाएन

प्रधानमन्त्री कार्कीले समयमै पूर्वतयारी भएको र सोही अनुसार सबै प्रदेश, स्थानीय तह तथा जनताबाट साथ मिलेको भन्दै धन्यवाद ज्ञापन गरिन्।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मनसुनजन्य विपद्‌मा सरकारलाई नागरिक, निजी क्षेत्र लगायत सबैको प्रशंसायोग्य साथ मिलेको बताएकी छन्। मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले सुरक्षा निकायहरूको परिचालनदेखि कर्मचारीहरूको खटाईसम्म प्रशंसा गर्न लायक देखिएको दाबी गरिन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री कार्कीले समयमै तयारी भएको र सोही अनुसार सबै प्रदेश, स्थानीय तह तथा जनताबाट साथ मिलेको भन्दै धन्यवाद ज्ञापन गरिन्।

प्राधिकरणको परिषद् अध्यक्ष  प्रधानमन्त्री र कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ भने अन्य मन्त्रीहरू सदस्य हुन्छन् । प्राधिकरणको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको थियो । तर उनीहरू काठमाडौँ आउन सम्भव नभएको खबर गरेका थिए ।बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेश मुख्यमन्त्री सतिशकुमार सिंह भने बैठकमा सहभागी भएका थिए। 

मुख्यमन्त्रीहरूलाई बैठकमा राखेर अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले सबैको सक्रियता भएको भनी बधाई पनि दिइन् । सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकमा समग्र क्षतिको कुरामा छलफल भएको छ र यस पटक सबैको सक्रियताले विपत्तिमा ठुलो क्षति हुनबाट जोगिएको निष्कर्ष निकालेको बताए ।

हालसम्म बाढी पहिरो ५२ जनाको मृत्यु भएको, ५ जना अझै बेपत्ता रहेको र ४७ जना घाइते रहेका उनले बताए । उनले विपद्‌मा उद्धारका लागि  ४ हजार मानिस  परिचालित भएको र १८ जना हेलिकप्टरबाट उद्धार गरिएको दाबी गरे । उनले  सुत्केरीसहित घाइतेहरूको समयमै उद्धार गर्न सफल भएको दाबी गरे । सरकारले विपद्‌मा २७ हजार सुरक्षा निकाय परिचालन गरेको र नागरिकको उत्साहजनक सहभागिता र साथ पाइएको बताए ।

‘यो विपद्‌मा विगत झैँ मानवीय सँगै पूर्वाधारमा सबैभन्दा धेरै क्षति भएको छ। सडक, हाइड्रोपावर, सिचाई र भौतिक पूर्वाधारमा क्षति भएको छ ’ उनले भने, ‘हालसम्म प्राप्त तथ्याङ्क अनुसार ३३० मेघावट जलविद्युतमा क्षति भएको छ। जलविद्युत तर्फ मात्र १२ अर्ब क्षति भएको अनुमान गरिएको छ।’ उनले सिचाइँ र खानेपानी आयोजनामा  पनि  क्षति भएको र अव सरकारले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए ।

उनले अविरल वर्षपछि बाढी र पहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरू एक साताभित्र सञ्चालनमा ल्याउने निर्णय भएको बताए । ‘मेची राजमार्ग अवरुद्ध छ । बिपी राजमार्ग अवरुद्ध छ । अन्य सहायक राजमार्गहरूमा पनि क्षति पुगेको छ ’ उनले भने ‘यी सबै राजमार्गहरू एक हप्ताभित्र अस्थायी रूपमा चलाउने काम हुन्छ । ’ उनले बिपी राजमार्ग ३देखि ४ दिनमा अस्थायी रुमपा सञ्चालनमा आउने र मेची राजमार्ग पनि सोही अनुरूप चलाउने दाबी गरे । उनले भित्री सडकहरू तत्कालै सञ्चालनको तयारीमा सरकार लागिसकेको भन्दै उनले ठुला राजमार्गलाई भने एक साता लाग्ने दाबी गरे ।

उनले राहत स्वरूप अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता २५ हजार पहिलो, अनि दोस्रो किस्ताको रूपमा अर्को २५ हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने र मृतकको हकमा २ लाख उपलब्ध गराउने निर्णय यसअघि नै भएको जानकारी दिए । उनले पुनर्निर्माण र पुनस्थापानाको काम पनि सरकारले सँगै अघि बढाउने निर्णय गरेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully