जेन-जी प्रतिनिधि भन्छन्- 'अहिले तोडफोड गर्नुपर्ने, आक्रोशमा आउनुपर्ने केही कुरा छैन । बेकारमा हिंसा गर्ने काम मात्र हामी गर्नेवाला छैनौं ।’
What you should know
काठमाडौँ — सामाजिक सञ्जाल टिकटकमा अहिले ९ अक्टोबर (२२ असोज) मा जेन–जीले अर्को प्रदर्शन गर्ने सूचना फैलिइरहेको छ ।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएर मुलुक चुनावको बाटोमा हिँडिरहेका बेला फेरि प्रदर्शनको सूचना आएपछि धेरैले चासो देखाएका छन् । तर, जेन–जीको कुनै पनि पक्षले यो प्रदर्शन घोषणाको स्वामित्व लिएका छैनन् ।
शनिबार मन्त्रीहरूसहित भएको बालुवाटार बैठकमा सहभागी सुदन गुरुङले आफूहरूको माग पूरा नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । तर, उनी पक्षका जेन–जीहरूले समेत अर्को सडक आन्दोलन घोषणा नगरिएको बताएका छन् । जेन–जी अगुवा पुरुषोत्तम यादवले ९ अक्टोबरमा कुनै प्रदर्शन वा भेला हुने कार्यक्रम नभएको बताए ।
‘त्यसबारे हामीले एउटा सूचनासमेत जारी गरेर भनिसकेका छौं,’ उनले भने, ‘त्यसैले त्यस्तो सूचना प्रवाह भइरहेको छ भने त्यो गलत हो ।’ सामाजिक सञ्जालमा अर्को प्रदर्शनको सूचना भाइरल भएपछि २३ भदौको आन्दोलन घोषणा भएको सुरुवाततिर सामाजिक सञ्जालमा देखिएका मिराज ढुंगानाले समेत खण्डन गर्दै भिडियो सार्वजनिक गरेका छन् ।
‘धेरैले ९ अक्टोबरमा फेरि प्रदर्शन कि छैन भनेर सोध्नुभएको थियो, तर हिंसा हुने किसिमको कुनै पनि आन्दोलनमा हाम्रो संलग्नता हुनेछैन,’ उनले भनेका छन्, ‘८ तारिखमा भएको आन्दोलनमा मुसो मार्न गएका हामीले बाघ मारेर ल्यायौं– एजेन्डाबिना, के गर्ने त्यसपछि भन्ने थाहा नपाई कुनै पनि प्रदर्शनमा हाम्रो संलग्नता हुनेछैन । एक हिसाबले बनिसकेको शान्ति हामी फेरि भंग गर्नेवाला पनि छैनौं । अहिले प्रदर्शन गर्नुपर्ने कुनै कारण पनि छैन ।’ आफूहरूको माग पूरा नहुँदा सुरुमा प्रेसर दिनुनपर्ने भन्दै उनले भनेका छन्, ‘अहिले तोडफोड गर्नुपर्ने, आक्रोशमा आउनुपर्ने केही कुरा छैन । बेकारमा हिंसा गर्ने काम मात्र हामी गर्नेवाला छैनौं ।’
रक्षा बम, युजन राजभण्डारीलगायतको समूहले समेत विज्ञप्ति जारी गर्दै निर्वाचन मिति घोषणा भइसकेको संवेदनशील अवस्थामा शान्ति, सुव्यवस्था खलबल्याउने, त्रास सिर्जना गर्ने र जेन–जी विद्रोहलाई बदनाम गर्ने किसिमका विभिन्न गतिविधिहरू भइरहेको उल्लेख गरेको छ । ‘मुलुकमा चुनाव नै नहोस्, शान्ति स्थापना नहोस्, सधैं तरलता रहिरहोस् भन्ने चाहनाका साथ विभिन्न व्यक्ति र समूहले देशलाई अर्को संकटतर्फ धकेल्ने धृष्टता गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘२२ असोज (९ अक्टोबर) मा पुनः हिंसात्मक आन्दोलन हुने भन्दै त्रास सिर्जना गरी शान्ति सुव्यवस्था खलबल्याउने प्रयास भइरहेको छ ।’
आन्दोलनको विषय सामाजिक सञ्जालमा आएपछि कतिपय प्रहरी अधिकारीहरूले समेत चासो देखाएका थिए । त्यसक्रममा प्रदर्शनका अधिकांश सूचना नेपालबाहिरबाट पोस्ट भएको पाइएको एक अधिकृतले बताए । ‘त्यस विषयमा थप बुझ्ने कामसमेत गरिरहेका छौं,’ ती अधिकृतले भने ।
