घाइतेहरू भन्छन्- 'जोविरुद्ध हामी आन्दोलनमा गयौं, फेरि तिनीहरू नै सत्ता र शक्तिमा आउँछन् कि जस्तो लाग्छ । त्यस्तै भयो भने त हामीले गरेको त्याग र बगाएको रगत त्यसै खेर गएन र !’
What you should know
काठमाडौँ — काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार पुग्दा सिन्धुपाल्चोक बलेफी–८ का २५ वर्षीय मदन कार्की जनरल वार्डमा ‘भागवत गीता’ पढिरहेका थिए ।
जेन–जी आन्दोलनमा घाइते भएर उपचाररत उनको बेडमै पुस्तकका चाङ देखिन्थ्यो । ‘यो बेलामा पुस्तक पढ्ने बानी परेको छ । संविधान र कानुनका किताब पनि पढिरहेको छु,’ मदनले भने ।
गत २३ भदौको जेन–जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली मदनको देब्रे छातीमा लागेको थियो । स्वास्थ्यमा क्रमिक सुधार आइरहँदा गोली लागेको घाउ पुरिँदै गए पनि मनमा लागेको घाउले भने अझै पनि पोलिरहने गरेको उनले गुनासो गरे ।
‘घाइते र घाइतेका परिवारलाई सरकारका तर्फबाट जति सहयोग हुनुपर्थ्यो, त्यति हुन सकेको छैन । त्यसमाथि जेन–जीको खोल ओढेर लाभ लिनेहरू दृश्यमा देखिइरहेका छन् । कति साथीहरूले ज्यान गुमाए, हामी यहाँ ढलिरहेका छौं,’ मदन आक्रोशित सुनिन्छन्, ‘यो त हाम्रो योगदानकै अवमूल्यन जस्तो भइरहेको छ ।’ आफू निको हुँदै गइरहे पनि गम्भीर घाइते भएकाहरूलाई सरकारले भविष्यमा कसरी व्यवस्थापन गर्छ भन्ने कुराले उनको मन पोलिरहेको रहेछ ।
मदनलाई यसपालिको दसैं साह्रै खल्लो लाग्यो । अस्पतालमा उनी दाइसँगै थिए । तर टीका लगाउन मनले मानेन । ‘यतिका साथीहरू ढले । टीका कसरी लगाउन सकिन्छ ?’ उनी प्रश्न गर्छन् । मदन त्यस दिन आन्दोलनमा कसरी होमिए ? कारणमा उनले सरकारसँगका ‘फ्रस्टेसन’ को केस्रा केलाउन थाले । ६ वर्षअघि १२ कक्षा सक्नासाथ मदनले सिन्धुपाल्चोकस्थित आफ्नै गाउँ बलेफीमा बाख्रा फार्म सुरु गरेका थिए । ४० वटा जति बाख्रा पनि भएका थिए । ‘तर नेताका आसेपासे र आफन्तले झोलामै कागज बनाएका भरमा पनि अनुदान पाइहाल्ने, हामी जस्तो कृषिमा नै केही गरौं भन्ने किसानले जति कोसिस गर्दा पनि नपाउने भएपछि फार्म चलाउन सकिनँ,’ मदन सरकारको सहयोग नमिल्दा भर्खर व्यवसाय सुरु गर्ने जमर्को गरिरहेका आफूजस्ता किसानले घाटा बेहोर्ने गरेको बताउँछन् । असफलताको निराशा बोकेर उनले गाउँ नै छाडे ।
शून्य अवस्थाबाट काठमाडौंमा आएर कम्प्युटर सिके । सँगै भिडियोग्राफीमा पनि मन लगाए । साथीभाइहरू देशमा भविष्य छैन भन्दै एकपछि अर्को गरी विदेशिएको उनले देखिरहेका थिए । उनले भिडियोग्राफीकै आर्जनबाट गुजारा गर्दै आएका थिए । ‘जे गर्छु आफ्नै देशमा गर्छु भन्ने दृढ संकल्प थिया,े’ मदनले भने । तर सत्तासीनहरूले गरेका भ्रष्टाचार र कुशासनका कारण आफूमात्रै नभई सारा जनतामा नै निराशा बढ्दै गएको उनले महसुस गरिरहेका थिए । ‘बोल्न नसक्दा एउटा भुइँमान्छे कति दबिँदो रहेछ भन्ने म आफैं पनि भुक्तभोगी थिएँ । त्यसैले यो आन्दोलनमा म मेरो लागि मात्र नभई ती बोल्न नसक्ने तमाम नेपालीहरूको पनि सामूहिक आवाज लिएर सडकमा गएको थिएँ,’ मदन भन्छन् ।
जेन–जी आन्दोलनकै अर्का घाइते डँडेलधुराका २२ वर्षीय मुकेश अवस्थी पनि यतिबेला आध्यात्मिक पुस्तकहरू पढेर आफूलाई उत्प्रेरित गराइरहेका छन् । आन्दोलनका क्रममा देब्रे खुट्टाको घुँडामुनि गोली लागेपछि उनले खुट्टा नै गुमाउनुपरेको हो । उनको दसैं पनि अस्पतालमै बित्यो । १२ असोजमा काठमाडौं आएकी आमाको हातबाट अस्पतालकै बेडमा टीका थापे । ‘ठूलो मान्छे बन्नु, छिट्टै निको हुनु,’ आमाले आशीर्वाद दिँदा मुकेश झनै भावुक भएका थिए । त्यसो त छोराको अवस्था देखेर आमाको पनि आँसु थामिएको भने छैन । उनी बेलाबेलामा भक्कानिन्छिन् ।
मुकेश पछिल्लो समय संसद् भवनमा सब–इन्जिनियरिङ गर्थे । सँगसँगै अस्ट्रेलिया जाने तयारीमा पनि थिए । ‘अब यस्तो हालत भइहाल्यो, जाने अवस्था नै भएन,’ मुकेश उपचारका क्रममा काटिएको आफ्नै खुट्टा हेर्दै भन्छन् । देशमा भइरहेको भ्रष्टचार र बेथितिविरुद्ध आवाज उठाउँदाको परिणाम सम्झँदा अहिले पनि झस्काइरहन्छ उनलाई । ‘जोविरुद्ध हामी आन्दोलनमा गयौं, फेरि तिनीहरू नै सत्ता र शक्तिमा आउँछन् कि जस्तो लाग्छ । यदि त्यस्तै भयो भने त हामीले गरेको त्याग र बगाएको रगत त्यसै खेर गएन !’ उनी सोचमग्न हुन्छन् ।
उनी विद्यार्थीको आन्दोलन भनेरै सडकमा गएका थिए । तर शान्तिपूर्ण आन्दोलनमा गोली लाग्छ भन्ने सोचेकै पनि थिएनन् । ‘कहिलेकाहीं त किन गएछु भन्ने पछुतो पनि लाग्छ,’ मुकेश सुनाउँछन् । मुकेशको घाउमा ‘इन्फेक्सन’ भएका कारण मंगलबार अप्रेसन गरिँदै थियो । मोरङकी लिजा अधिकारीको दसैं पनि यस पटक ट्रमा सेन्टरमै बित्यो । बा, आमा र भाइ टीकाको दिन सँगै थिए । उनीहरूको योपालि टीका थिएन । दसैं मनाएनन् । ‘दसैंका बेला परिवारका सबै जना हस्पिटल भएको यो पहिलो पटक हो,’ उनका बा भन्छन् । लिजा २३ भदौको आन्दोलनमा निस्कँदै गर्दा छिमेकी काकीले सम्झाएकी थिइन्, ‘आज नजाऊ नानी, गोली हान्छन् ।’ लिजालाई लागेको थियो, ‘विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलन छ । त्यसमाथि सरकारले गोली हान्न मिल्दैन । हाल्दैन ।’ अस्पतालको बेडबाट त्यो दिनको दृश्य सम्झँदै लिजा भन्छिन्, ‘जे सोचेकै थिएनौं, त्यही भयो । सरकारले हाम्रा साथीहरूको हत्या गर्यो । हामीमाथि अपराध बर्सायो ।’
लिजा बीबीए चौथो वर्ष पास आउट थिइन् । विद्यार्थीहरूको आवाज लिएर उनी सडकमा ओर्लिएकी थिइन् । बानेश्वर पुग्नासाथ प्रहरीले अश्रुग्यास हान्यो । दिउँसो २ बजे आमाले फोन गरेर घर बोलाइन् । उनी घर फर्कने तरखरमै थिइन् । ‘त्यही बेला अगाडिपट्टि हेलमेट लगाएकी दिदीसँग कुरा गर्दै थिएँ, कुरा गर्दागर्दै मलाई गोली लागिसकेछ,’ उनी आफूले भोगेको कहालीलाग्दो त्यो दृश्य सम्झिन्छिन् । गोलीले उनको कुम नै छेडेको थियो । उनलाई तत्काल एभरेस्ट अस्पताल लगियो । त्यहाँबाट ट्रमा सेन्टर रिफर गरियो । त्यस रात उनको कुमको अप्रेसन भयो । मंगलबार पनि लिजाको गोली लागेको ठाउँको अप्रेसन हुँदै थियो । स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको बताउँछिन् उनी ।
लिजाकी आमा मुटु रोगी हुन् । छोरीको कुरुवा बसिरहेकी उनी भन्छिन्, ‘अब त छोरी नै घाइते भएपछि मैले आफूलाई बिरामी भनेर सुख पाउने कुरा छैन ।’ लिजा आन्दोलनमा जानुअघिसम्म संसद्, कानुन र संविधानबारे धेरै कुरामा बेखबर थिइन् । उनी केवल भ्रष्टाचारविरुद्ध लड्नुपर्छ भन्नेमा मात्र स्पष्ट थिइन् । अहिले उनलाई नयाँ–नयाँ विषयवस्तुमा ज्ञान भइरहेको छ । ‘मैले अहिले कानुन, संविधान र व्यवस्थाबारे चासो राख्न थालेकी छु, झन् पछि झन् नयाँ नयाँ कुराहरू थाहा पाइरहेकी छु,’ उनी भन्छिन् ।
जेन–जी आन्दोलनमा गोली लागेर घाइते भएका दैलेखका प्रकाश बोहोराको दसैं पनि यसपालि ट्रमा सेन्टरमै बित्यो । उनलाई देब्रे खुट्टामा गोली लागेको थियो । आन्दोलनको प्रतीक बनेको ‘आइकोनिक’ जुत्ता पनि उनै प्रकाशको थियो । दसैंको दिन प्रकाशका आमा, श्रीमती र छोरा अस्पतालमै थिए । ‘प्रकाशको ठूलो बा बित्नुभएको थियो । हामीले दसैं मनाएनौं,’ उनकी आमा नन्दा भन्छिन् ।
प्रकाश अस्पतालमा बसेर यतिबेला समाज बुझ्नका लागि साहित्य र कानुन बुझ्नका लागि विभिन्न आर्टिकल पढिरहेका छन् । अस्पतालको शय्याबाटै सामाजिक सञ्जालमा देशको चासो राखिरहेका छन् । सरकारलाई भ्रष्टाचारी र आन्दोलनमा गोली हान्ने आदेश दिनेलाई कारबाही गर्न दबाब दिइरहेका छन् । उनको अस्पताल बसाइ एक महिना पुग्न लाग्यो । आमा नन्दालाई थाहा छैन– अब अझै कति दिन राख्छ ! ‘छोरा छिट्टै पूर्ण निको भएर घर जाने दिनको पर्खाइमा छु,’ उनी भन्छिन् ।
आन्दोलनमा घाइते भएका धेरैजसो बिरामीहरू घर फर्किसके । ट्रमा सेन्टरमा अहिले पनि जेन–जी आन्दोलनका ११ जना घाइते उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा ५, केएमसीमा र बीएन्डबीमा ३–३,
निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, कीर्तिपुर अस्पताल, ह्याम्स अस्पताल र नेपाल प्रहरी अस्पतालमा १–१ जना गरी काठमाडौंमा २७ जना घाइतेको उपचार भइरहेको छ ।
