सोमबार बसेको पदाधिकारी बैठकपछि आयोगले विभिन्न चरणमा निर्वाचन गर्दा सुरक्षा लगायत धेरै चुनौती आउने भएकाले एकै चरण गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशभर एकै चरणमा सम्पन्न गर्नुपर्ने नत्र सुरक्षा चुनौती बढ्ने निष्कर्ष निकालेको छ।
सोमबार बसेको पदाधिकारी बैठकपछि आयोगले विभिन्न चरणमा निर्वाचन गर्दा सुरक्षा लगायत धेरै चुनौती आउने भएकाले एकै चरण गर्नुपर्ने निष्कर्षमा पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले बताए ।
निर्वाचनको तयारी र त्यसका चुनौतीबारे आन्तरिक रुपमा अध्ययन गरेको आयोगले दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था भए कयौं जटिलताहरु थपिने भन्दै एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्षसहितको ब्रिफिङ नोट तयार गरेको छ ।
आयोगका अनुसार, १३ बुदाँमा तयार पारिएको ब्रिफिङ नोटमा दुई चरणमा निर्वाचन गर्दा कयौं जटिलता र समस्या आउने भन्दै एकै चरणमा नै निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसमेत एकै चरणमा सम्पन्न भएको र यस पटक प्रतिनिधिसभा मात्रै भएकाले एकै चरणमा नै निर्वाचन गर्नुपर्नेमा पदाधिकारीविच एकमत देखिएको छ ।
आयोगले तयार पारेको ब्रिफिङ अनुसार, निर्धारित समयमा निर्वाचन हुनेमै शंका बढ्न सक्ने भएकाले दुई चरणको छलफल र बहस नै अघि बढाउन हुँदैन भन्ने उक्त नोटमा उल्लेख छ ।
दुई चरणमा निर्वाचन गर्दा मतदान हुने ठाउँमा अन्य क्षेत्रका मतदाता आउने अनि बुथ क्याप्चर गर्ने र सुरक्षा चुनौती बढ्ने जोखिम हुन सक्ने उल्लेख छ ।
फरक–फरक निर्वाचन तालिकाका कारण कुनै ठाउँमा प्रचार प्रसारमा कम अवधि र कुनैमा बढी अवधि पाएर मतदातामा असमान व्यवहार हुने भएकाले एकै चरणको सुझाव आएको प्रवक्ता भट्टराईले बताए ।
