फागुन २१ मा हुने निर्वाचन कार्यक्रम सम्बन्धी तालिका पारित

स्वीकृत कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताका लागि तोकिएको छ ।

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

Passed the schedule related to the election program to be held on February 21

What you should know

काठमाडौँ — निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बसेको पदाधिकारी बैठकले निर्वाचन कार्यक्रम सम्बन्धी कार्यतालिका पारित गरेको हो ।

निर्वाचन आयोगले नयाँ सरकार गठन भएलगत्तै ९ असोजमा मतदाता नामावली संकलनका लागि ३० कात्तिकसम्म १६ वर्ष उमेर पुगेका नागरिकहरुलाई मतदाता नामावली संकलनको लागि खुलाएको थियो । सरकारले अध्यादेश ल्याएपछि आयोगले युवाहरुलाई मतदान गर्ने बाटो खोलेको थियो । 

पुराना दलहरु निर्वाचनमा जान अझै पनि अलमलमै रहेको अवस्थामा निर्वाचन आयोगले कार्यतालिका पारित गरेको हो ।  

स्वीकृत कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताका लागि तोकिएको  छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघमदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने कार्यतालिकामा उल्लेख छ । ३ फागुनदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने आयोगको कार्यतालिकमा उल्लेख छ । २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको कार्यतालिकामा उल्लेख छ । समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेस गर्ने कार्यतालिका छ ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । 

कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय १ मंसिरदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले ३० कात्तिक अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको  छ ।

कान्तिपुर संवाददाता

Link copied successfully