शनिबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ बाट धरान आउँदै गरेको जिप पाँचथरको कुम्मायक–३ कात्तिकेमा सडकबाट ३ सय मिटर तल झरेर दुर्घटनामा परेको थियो । १२ जना यात्री सवार जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
What you should know
धरान — पाँचथरको कुम्मायक–३ कात्तिकेमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ बाट धरान आउँदै गरेको मे १ ज ३०५५ नं को जिप पाँचथरको कुम्मायक–३ कात्तिकेमा सडकबाट ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । १२ जना यात्री सवार जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएकोमा २ जनाको अवस्था अझै गम्भीर रहेको धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिएका छन् । उनका अनुसार दुई जनाको अवस्था मध्यम र अन्य एक जनाको अवस्था सामान्य रहेको उनले बताए ।
डिएसपी राईका अनुसार ताप्लेजुङको मिरिङदेन गाउँपालिका–५ थुकीमा का जिप चालक २२ वर्षीया महेश लिम्बू र मिरिङेदनकै २५ वर्षिया विमल लिम्बूको अवस्था भने गम्भीर रहेको उनले बताए । उनीहरूलाई आईसियुमा भर्ना गरिएको डिएसपी राईले बताए । विमल लिम्बूको टाउको र अनुहारमा चोट लागेको कारण अवस्था गम्भीर रहेको जनाइएको छ भने महेश लिम्बूको दायाँ आँखा, टाउको, निधारमा चोट लागेको उनले बताए ।
त्यस्तै, मिक्लाखोला गाउँपालिका–४ सावाँका २५ वर्षीया मनु सावाँको दायाँ आँखामाथि, अनुहार, निधार, छाती र खुट्टामा चोट लागेको छ । उनी इमरजेन्सी वार्डमा उपचाररत छिन् । मनु सावाँकी बहिनी गंगा राईका अनुसार उनका आँखा, निधार, खुट्टा फयाक्चर भएको छ भने चिउडोको अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको उनले बताइन् । बहिनी गंगाका अनुसार उनी सावाँबाट दसैँ मनाएर एक्लै धरान फर्किँदै गर्दा बाटोमा दुर्घटना परी घाइते भएको उनले बताइन् । घाइते मनु सावाँ भने बोल्न नसक्ने अवस्थामा छिन् ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाईँलाई भने सर्जरी वार्डमा सारिएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । उनी अलि अलि बोल्न सक्ने अवस्थामा छन् । घाइते गुरागाईँका अनुसार उनको छातीको दुईवटा करङ भाँचिएको र टाउकोमा चोट लागेको छ । उनी ताप्लेजुङको सावाँबाट दसैँ मनाएर घर फर्कने क्रममा दुर्घटनामा परेको उनले बताए ।
त्यस्तै, मिक्वाखोला गाउँपालिका सावाँ कालीखोलाका ७ वर्षीया बालक अनिश लिम्बूलाई भने विराटनगरको न्यूरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टाकोमा चोट लागेको थियो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये महेश गुरागाईँ मात्र बोल्न सक्ने अवस्थामा छन् । दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये एक जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार पछि झापा ल्याइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका बस्ने ३० वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् । उनको टाउको, शरीरका विभिन्न भाग र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
