अलपत्र यात्रीको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्दै

विपद्का कारण यातायात सञ्चालन नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्री र स्थलमार्गबाट संघीय राजधानी काठमाडौं पुग्न नसकेका व्यक्तिलाई उक्त जहाजले ओसार्ने छ ।

आश्विन १९, २०८२

दीपेन्द्र बडुवाल

Nepal Airlines narrow-body aircraft flying Kathmandu-Bhairawa-Kathmandu to rescue stranded passengers

भैरहवा — बाढी, पहिरो र विपद्का कारण रुपन्देहीलगायत जिल्लामा अलपत्र यात्रीको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले आइतबार राति ९ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।

विपद्का कारण यातायात सञ्चालन नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्री र स्थलमार्गबाट राजधानी काठमाडौं पुग्न नसकेका व्यक्तिलाई उक्त जहाजले ओसार्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अलपत्र यात्रुलाई सुविधा पुर्‍याउन पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र सरोकारवाला निकायसित सरोकार गरेर आइतबार राति ९ बजे एयरबस ३२० बाट काठमाडौं–भैरहवा–काठमाडौं उडान सुनिश्चित गरिएको जनाए ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले अलपत्र यात्री, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्तिको सुविधाका लागि १ सय ५८ सिटको न्यारोबडी जहाजले उडान भर्न लागेको जानकारी दिए । विपद्का कारण गन्तव्यमा पुग्न नसकेर अलपत्र व्यक्तिलाई लक्षित गरेर नागरिक उड्यन प्राधिकरणले उडान निश्चित गरेको उनले बताए ।

उक्त जहाजबाट भैरहवा–काठमाडौं यात्रा गर्नका लागि नेपाल एयरलाइन्सका स्थानीय स्टेसन प्रमुख अरुण पन्थीलाई टिकट व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

तत्काल टिकट आवश्यक परेका व्यक्तिले पन्थीको मोबाइल नम्बर ९८५७०२३६७१ मा फोन गरेर बुक गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

दीपेन्द्र बडुवाल

Link copied successfully