कान्तिपुरसँगको कुराकानीमा उनले गुरुङलाई विपद्मा उद्धार गरेको अनुभव भएका आधारमा विज्ञको रूपमा बोलाइएको र उनले पनि त्यही रूपमा अनुभव सुनाएको दाबी गरेका छन् ।
What you should know
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी नेताका रूपमा चिनिएका सुदन गुरुङले विपद् प्राधिकरणको बैठकमा भाग लिँदै कर्मचारीलाई निर्देशन दिएको र अनधिकृत पहुँच बनाएको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रतिक्रियामा टिप्पणी गरेका छन् ।
कान्तिपुरसँगको कुराकानीमा उनले गुरुङलाई विपद्मा उद्धार गरेको अनुभव भएका आधारमा विज्ञको रूपमा बोलाइएको र उनले पनि त्यही रूपमा अनुभव सुनाएको दाबी गरेका छन् ।
‘शनिबार विपद् प्राधिकरणमा बैठक थियो । त्यहाँ उनलाई पनि बोलाइएको थियो । उनले निर्देशन दिएको होइन त्यो खाली विपद्को सम्बन्धमा उनको विज्ञता भएकाले बोलाइएको हो,’ अर्यालले भने, ‘अरू भन्दा उनीको बढी एक्सपर्टिज छ । त्यसैको उपयोग गर्ने उद्देश्यले छलफलमा उनले आफ्ना कुरा राखेको रूपमा सरकारले लिएको छ । जोसँग बढी अनुभव छ त्यो अनुभवलाई पनि नेपाल सरकारले ग्रहण गर्छ । ’
तत्काल परिपूर्ति गर्नुपर्ने कुरा र प्राथमिकताहरू के हुन् भनेर नागरिक र जेन–जीका प्रतिनिधिहरूसमेतलाई पनि राखेर छलफल गरिएको भन्दै उनले यसमा विवाद गर्न आवश्यक नभएको तर्क गरे ।
‘त्यहाँ उनले मात्र हैन अरूले पनि आफ्ना कुरा राखेका थिए । सुदन गुरुङसँग १० वर्षको अनुभव भएकाले उनले चलाएको संस्थाले यही क्षेत्रमा काम गरेकाले उनले आफ्ना कुरा राखेका हुन्,’ अर्यालले भने, ‘कतिपय कार्यक्षेत्रमा खटिने मान्छेहरू जो एक्सन ओरिएन्टेड हुन्छन् उनीहरूको बोली र स्वभाव पनि त्यही अनुसारको हुन्छ । उहाँको स्वभाव, बोली व्यवहार अलि फरक भएका कारण पनि यस्तो लागेको हुनसक्छ । अरू बेला पनि उनले त्यसैगरी आफ्ना कुरा राख्ने गरेकाले यसलाई विवादमा ल्याउनुपर्ने देखिँदैन । ’
आफ्नो विज्ञताको क्षेत्र भएकाले उनले सुझाव दिएका भन्दै उनले त्यसमा विपद् व्यवस्थापन प्राधिकरण कार्यालयले अन्यथा नलिएको पनि बताए । उनले यो कुरा सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा आलोचनाको विषय बन्न आवश्यक नभएको पनि बताए ।
‘बढी नै दबाबमूलक भयो वा अनधिकृत पहुँच लिएर दुरुपयोग गर्नुपर्ने काम भयो भने चिन्ता गर्नुपर्छ कि भन्ने कुरा हो । यसलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ । तर त्यो अवस्था अहिले सम्म छैन । जेन–जीका सबै मानिसहरू पनि पढेलेखेका र यही देशमा केही होस् भन्ने चाहना राख्ने भएकाले काम गरेको अनुभव भएको मान्छे भएकाले यस्तो नहुने मेरो विश्वास छ,’ उनले भने, ‘वहाँहरूले नागरिकलाई जहाँ जहाँ समस्या भएको छ त्यहाँ गएर आफ्नो सरोकारहरू कन्फिडेन्टली राख्नुभएको छ । यसलाई नै नकारात्मक रूपमा लिनु वा प्रचार गर्न जरुरी छैन ।’
