विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको निर्देशन

विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि सबैले संयमता, धैर्य, सक्रियता अपनाउन आयोगले आग्रह गरेको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

The commission directed the government to focus on the rescue of those at risk of disaster

What you should know

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न भूभागमा जारी मनसुनी वर्षामा विवेकपूर्ण ढंगले आ–आफ्नो क्षेत्रबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

बाढी, पहिरोका कारण उत्पन्न सम्भावित जटिल अवस्था र सोबाट मानवअधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि सबैले संयमता, धैर्यता, सक्रियता अपनाउन आयोगले आग्रह गरेको  छ । 

‘प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र विपद्बाट जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको विशेष जिम्मेवारी हुन्छ,’ आयोगले भनेको छ, ‘विपद्बाट जनधनको क्षति नहोस् भन्नाका लागि राज्यको सम्पूर्ण ध्यान विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनु आवश्यक छ ।’

आयोगले विपद्पूर्वको तयारीमा विशेष ध्यान पुर्‍याउन, विपदको अवस्थामा आउन सक्ने सम्भावित जोखिमबाट जनधनको क्षतिलाई न्यूनीकरण र प्रतिकार्यका लागि राज्यका सम्बन्धित संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न र विपद् जोखिममा रहेकाहरुको उद्धारमा ध्यान केन्द्रित गर्न आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ। 

साथै, विपद्पूर्वको तयारी तथा उद्धारका कार्यमा सघाउन आयोग राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु एवम् सम्पूर्ण नागरिक समाजलाई आयोग आग्रह गरेको छ ।

विपद्को अवस्थामा सकेसम्म आवतजावत नगरी सुरक्षित रहन, आफूलाई प्राप्त सूचना अन्यलाई पनि प्रवाह गर्न र क्षति न्यूनीकरणका लागि आफ्नो व्यक्तिगत प्रयासलाई समेत स्वसक्रिय बनाउन समेत आयोग सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully