अरनिको र बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार जिल्लास्थित बीपी राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक सडक खण्डका चार स्थानमा पहिरो झरेको छ।

आश्विन १८, २०८२

ज्योती श्रेष्ठ

Suspension of traffic on Araniko and BP highways

काभ्रे — जिल्लास्थित अरनिको र बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण अहिले बीपी राजमार्गका चार स्थानमा पहिरो झरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार जिल्लास्थित बीपी राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक सडक खण्डका चार स्थानमा पहिरो झरेको छ।

‘सो सडक खण्डअन्तर्गत रोशी गाउँपालिका–१२ मा पहिरो झरेको छ,’ उनले भने, ‘त्यस्तै रोशी गाउँपालिका–९ स्थित पिन्थली, मंगलटार चार्जिङ स्टेसन र नार्के उकालोमा लेदोसहितको पहिरो झरेको छ।’

उनका अनुसार अहिले सो सडकखण्डअन्तर्गत रोशी खोलामा पानीको बहाव उच्च रहेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार बिहान ९ बजेदेखि बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ।

प्रशासनले राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएपछि राजमार्गमा फसेका सवारीसाधनहरूलाई ट्राफिक प्रहरीले उद्धार गरेको प्रहरी निरीक्षक धाँजुले बताए। अहिले राजमार्गमा कुनै यात्रु अलपत्र नरहेको उनको भनाइ छ।

त्यस्तै, जिल्लास्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डको तिरतिरे धारामा पहिरो झरिरहेकाले धुलिखेलमा सवारी रोकिएको उनले जानकारी दिए।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully