हामीले रिभर्स सर्च गर्दा यो भिडियो पुरानै रहेको पाइयो । गत साउन ३१ गते ज्यामिरेमा गएको सुख्खा पहिरोको भिडियो यतिबेला भाइरल भएको भेटियो ।
What you should know
काठमाडौँ — शुक्रबारदेखि अविरल वर्षाकाबीच सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरे पहिरोले बाटो अवरुद्ध भन्दै भाइरल बनाइएको हो ।
भाइरल भएको उक्त भिडियो फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा फैलिएका छन् । उक्त भिडियोमा पहाडबाट पहिरो खसिरहेको देखिन्छ । हजारौंले उक्त भिडियो सेयर गरेका छन् ।
विभिन्न समाचार पोर्टलहरुको पेजले पनि उक्त भिडियो पोस्ट गरेका छन् । 'रामेछापन्यूज डटकम' नामक पेजले पनि यही भिडियो पोस्ट गरेको छ । शनिबार ११ बजेर १८ मिनेटमा यो भिडियो पोस्ट गरेको छ ।
२१ लाख फलोअर्स भएको 'दैनिक' नामक पेजले पनि यो भिडियो पोस्ट गरेको छ । शनिबार ११ बजेर ३७ मिनेटमा पोस्ट गरेको उक्त भिडियोको शिर्षक राखिएको छ, ' हेटौडाको ज्यामिरेमा पहिरो गएको छ । सचेत रहौं सुरक्षित रहौं ।'
यी जस्तै अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ज्यामिरेमा पहिरो भन्दै भिडियो पोस्ट गरेका छन् । प्रयोगकर्ताहरुले दाबी गरेजस्तो यो भिडियो आजकै हो त ?
हामीले रिभर्स सर्च गर्दा यो भिडियो पुरानै रहेको पाइयो । गत साउन ३१ गते ज्यामिरेमा गएको सुख्खा पहिरोको भिडियो यतिबेला भाइरल भएको भेटियो ।
थप पुष्टि गर्नका लागि हामीले मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका ३ का वडाअध्यक्ष प्रतिक बोम्जनलाई सम्पर्क गर्यौं । उनले पनि सो भिडियो पुरानै रहेको बताए । उनले कान्तिपुरसँग भने- 'दुई महिनाअघि सुख्खा पहिरोको भिडियो हो त्यो । त्यो आजको होइन ।'
