ज्योतिष तथा कलाकार हरिहर अधिकारी अप्रमाणित तथ्यका कारण बेला-बेला विवादमा परिरहन्छन् ।
काठमाडौँ — गलत भविष्यवाणीका कारण ज्योतिष तथा कलाकार हरिहर अधिकारी बेला–बेलामा विवादमा परिरहन्छन् ।
यसपालि भने उनी मौसमसम्बन्धी गलत भविष्यवाणीका कारण विवादमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले १७ गतेदेखि तीन दिन भारी तथा अत: भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको थियो । तर अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् ठूलो वर्षा नहुने र क्षति नदेखिने भन्दै ढुक्क हुन आग्रह गरेका थिए ।
शनिबार बिहानदेखि ठूलो वर्षा देशका विभिन्न ठाउँमा भएकाले जोखिम पनि उत्तिकै देखिएका छन् । हरिहरले गलत भविष्यवाणी गरेको भन्दै उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गाली र ट्रोल गरिरहेका छन् ।
उनले शनिबार फेसबुक स्टाटसममार्फत् माफी मागेका छन् । 'मौसमसम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्रार्थी छु । सबै जना आ–आफ्नो स्थानमा सुरक्षित रहनुहोस्,' उनले लेखेका छन् ।
यसअघि ०७९ साउनमा पडकास्टर सञ्जय गुप्तासँगको कुराकानीमा पनि उनी आफ्नै भनाइका कारण ट्रोलका सिकार भएका थिए । त्यतिबेला उनले अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्षे संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने जस्ता अभिव्यक्ति दिएका थिए । उनका दाबीहरु तथ्यपरक नभएको भन्दै त्यतिबेला पनि उनी सामाजिक सन्जाल प्रयोगकर्ताहरूबाट ट्रोलको शिकार भएको थिए ।
