चितवन हुँदै काठमाडौं र अन्य जिल्ला जाने सडकमा गाडी चलाउन रोक, राेकिएका यात्रुलाई ७५ प्रतिशत छुट दिएर होटलमा राखिने

शनिबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा निकाय र हाेटल व्यवसायीका संघ संगठन र अन्य सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

आश्विन १८, २०८२

रमेशकुमार पौडेल

Driving is prohibited on the roads going to Kathmandu and other districts through Chitwan, passengers who are stopped will be accommodated in hotels with a 75% discount.

What you should know

चितवन — अविरल बर्खाका कारण काठमाडौं र पोखरा जाने आउने सडकमा पहिरो जान थालेपछि चितवनमै रोकिएका यात्रुहरूलाई ७५ प्रतिशत छुट दिएर होटलहरूमा राख्ने प्रशासनले निर्णय गरेको छ ।

शनिबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा निकाय र हाेटल व्यवसायीका संघ संगठन र अन्य सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

यात्रुहरूलाई नारायणगढ, भरतपुर र सौराहासहित जिल्लाभरिका सबै होटलहरूमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । यसरी छुटमा बस्ने यात्रुलाई फरक व्यवहार नगर्न प्रशासनले चेतावनी दिएको छ ।यसका बारेमा  प्रहरी र होटल व्यवसायी संघका प्रतिनिधिले अनुगमन गर्ने छन् । बढी शुल्क लिने वा अन्यथा गर्नेलाई कारबाहीसमेत हुने प्रशासनले जनाएको छ । चितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म आज शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् ।

चितवन हुँदै राजधानी काठमाडौं र पोखरा जाने नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग शनिबार बिहानैदेखि पहिरोबाट प्रभावित भएका थिए । नारायणगढ मुग्लिन सडकको तुइनखोलामा पटक पटक पहिरो गयो ।

त्यसैगरी पृथ्वी राजमार्गको कुरिनटार नजिक र धादिङ जवाङ खोला नजिक पहिरो गएर बाटो अवरूद्ध भएको थियो । चितवनका विभिन्न १४ ठाउँमा अगाडि बढ्न समस्या भएका गाडीहरूलाई सुरक्षित रूपमा राखेको चितवन प्रहरीले जनाएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully