७ अन्तर्राष्ट्रिय उडान डाइभर्ट, सबै आन्तरिक उडान स्थगित 

ठूला जेट विमानलाई काठमाडौंमा अवतरण गर्न कम्तीमा १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । शनिबार दिउँसो दृश्यता २,००० मिटरभन्दा तल झरेको र सिमरादेखि काठमाडौंसम्मको रुटमा मौसमी खराबीका कारण अवतरणमा समस्या आएको विमानस्थलले जनाएको छ  ।

आश्विन १८, २०८२

सुरज कुँवर

7 international flights diverted, all domestic flights suspended

What you should know

काठमाडौँ — दृश्यता (भिजिबिलिटी) घटेपछि सातवटा अन्तर्राष्ट्रिय जेट विमानलाई वैकल्पिक विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । भिजिबिलिटी कम हुँदा विमानहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका हुन् ।

दिउँसो करिब २ बजेतिर मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको विमानले दुईपटक अवतरण प्रयास गरे पनि सफल हुन सकेन र अन्ततः लखनउतर्फ मोडिएको विमानस्थलले जनाएको छ।

त्यसैगरी, कुनमिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको विमान ढाका, थाइल्याण्डबाट आएको थाइ एयर एशियाको उडान लखनउ, र जापानको नारिताबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज दिल्लीतर्फ डाइभर्ट गरिएको हो।

दिल्लीबाट काठमाडौं आउँदै गरेका एयर इन्डिया र इन्डिगोका दुई उडान दृश्यता नपुग्दा पुनः दिल्ली फर्किएका छन्।

त्यस्तै, आबुधाबीबाट उडेको एयर अरेबियाको विमान बाणारसीतर्फ मोडिएको छ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार नेपाल वायुसेवा निगमको वाइडबडी विमानले अन्तिम प्रयासका रूपमा सिमरा मार्ग हुँदै अवतरण गर्न खोजेको थियो तर सकेन। 'सिमरा करिडोरमा टरबुलेन्स अत्यधिक भएको कारण अवतरणमा कठिनाइ भएको हो,' पाण्डेले भने, 'हाल दुई वटा कतार एयरवेजका विमान गोरखपुरको आकाशमा होल्डमा छन्, तीनवटा भने अवतरण प्रयासमै छैनन्।'

ठूला जेट विमानलाई काठमाडौंमा अवतरण गर्न कम्तीमा १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। शनिबार दिउँसो दृश्यता २,००० मिटरभन्दा तल झरेको र सिमरादेखि काठमाडौंसम्मको रुटमा मौसमी खराबीका कारण अवतरणमा समस्या आएको विमानस्थलले जनाएको छ ।

यद्यपि, काठमाडौंबाट हुने प्रस्थान उडानहरू भने अवरुद्ध भएका छैनन्। यसैबीच, आन्तरिक तर्फका सबै उडान बिहान साढे ८ बजेपछि स्थगित गरिएको छ। शनिबार दुईतर्फी गरी २९० उडानको तालिका तय गरिएको थियो तर मौसमका कारण एक दर्जनभन्दा बढी उडान हुन सकेनन्। सात वटा विमान भने काठमाडौं बाहिरै रोकिएका छन्।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully