कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीका अनुसार, प्रहरीले ६ जनाको शव संकलन गरेर पाँचथर अस्पताल पठाइएको छ।
What you should know
काठमाडौँ — तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ६ जनालाई सकुशल उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनामा ज्यान गुमाएका ६ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइँदै गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीका अनुसार, प्रहरीले ६ जनाको शव संकलन गरेर पाँचथर अस्पताल पठाइएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । उनीहरुको सनाखत भइसकेको छैन ।
‘बाँकी ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ,’ कार्कीले कान्तिपुरसँग भने, ‘एकजनाको फिदिम अस्पतालमा उपचार भइरहेको छ, बाँकीलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ ।’
शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेका अधिकांस ताप्लेजुङकै बासिन्दा रहेको बताइएको छ ।
‘ताप्लेजुङबाट आएको विवरणमा १२ जना रहेको भनिएको थियो, सुरुमा ११ जना मात्र फेला पारेका थियौं, पछि अर्को शव पनि भेटियो,’ कार्कीले भने, ‘कोही बीचमा आर्लिएको वा चढेकोबारे समेत बुझ्ने काम भइरहेको छ ।’ घटनास्थलमा अझै खोजी कार्य जारी रहेको समेत उनले बताए ।
दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटना भएको बेला घटनास्थल वरपर वर्षात पनि भएको थिएन ।
