‘ह्वाइट वेभ पिक’ भनेरसमेत चिनिने ६ हजार ८ सय ८ मिटर उचाइको ‘अदिनेश चुली’ को फ्रान्सका दुई जना नागरिकले पहिलो पटक आरोहण गरेका छन् ।
ताप्लेजुङ — ‘ह्वाइट वेभ पिक’ भनेरसमेत चिनिने ६ हजार ८ सय ८ मिटर उचाइको ‘अदिनेश चुली’ को फ्रान्सका दुई जना नागरिकले पहिलो पटक आरोहण गरेका छन् ।
फ्रान्सका बेञ्जामिन चार्ल्स इलि वेद्रिन्स र निकोलस पाउल अरीस्टाइडले पिक आरोहण गरेको संलग्न अन्नपूर्ण फूटहिल्स ट्रेक्स एन्ड एक्सपिडिसन तेन्जी शेर्पाले जानकारी दिए । चुलीको आरोहणपछि उनीहरू घुन्सामा रहेको जोङगा फेमिली हाउसमा आराम गरिरहेका छन् ।
उनीहरूको जोडी अब कुम्भकर्ण हिमाल आरोहणको तयारीमा रहेको होटलका सञ्चालक छिरि शेर्पाले जानकारी दिए । अनुकूल मौसमको पर्खाइमा होटेलमा बसेको उनले बताए । ७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल आरोहणका लागि पर्यटन विभागले गत भदौ १५ गते अनुमति दिएको छ । उनीहरूले ६० दिनमा हिमाल आरोहण गरिसक्नका लागि अनुमति लिएका छन् ।
आदिनेश चुलीको आरोहणले कुम्भकर्ण हिमाल आरोहणमा सघाउ पुग्ने घुन्सामा रहेका यी जोडीले बताएका छन् । उत्तरी मार्ग हुँदै हिमालयको भर्जिन चुलीको पहिलो आरोहणले उत्साही बनाएको प्रतिक्रिया यी जोडीको छ ।
एकै दिनमा अल्पाइन शैलीमा पूरा गरिएको, आरोहणले हिउँले कोरेको लहरको आकारलाई जनाएको उनीहरूले बताएका छन् । ‘हामी उत्तरी रिज चढ्यौं । एक सुन्दर, विविध मिश्रित मार्ग, प्रायः ठाडो हिउँमा, जहाँ हामी हाम्रो पूर्व अनुकूलन र तयारीको लागि छिटो पाइला सार्न सक्षम भयौं,’ आरोहीले प्रेस सन्देशमा लेखेका छन्, ‘यो आरोहणले हामीलाई हाम्रो परीक्षण गर्न पनि अनुमति दियो ।’
