शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।

आश्विन १७, २०८२

रासस

On Saturday, the flow in the rivers of four provinces will begin to increase

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए।

'शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,' उनले भने, 'आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।'

आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

रासस

Link copied successfully