साउदीमा ‘काममा अनुपस्थित’ श्रमिकलाई नयाँ रोजगारदातासँग काम गर्न पाउने नियम लागू

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न पाउने नियमलाई थप लचकता बनाउँदै पुरानो रोजगारदाता छाडेका श्रमिकलाई कानुनी हैसियत दिएको हो ।

आश्विन १७, २०८२

होम कार्की

In Saudi Arabia, the rule to allow 'absent-at-work' workers to work with new employers

What you should know

काठमाडौँ — साउदी सरकारले पुरानो रोजगारदातालाई छाडेर बस्दा ‘काममा अनुपस्थित’ भएको श्रमिकले नयाँ रोजगारदाता (स्पोन्सर) सँग काम गर्न पाउने नयाँ नियम लागू गरेको छ ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न पाउने नियमलाई थप लचकता बनाउँदै पुरानो रोजगारदाता छाडेका श्रमिकलाई कानुनी हैसियत दिएको हो । अब कानुनी हैसियत गुमेका श्रमिकलाई पुनः कानुनी हैसियत पाइनेछ । यो व्यवस्था १८ सेप्टेम्बर २०२५ देखि किवा (साउदीको अनलाइन प्लेटफर्म) मार्फत कार्यान्वयनमा ल्याएको छ ।

मानव संशाधन मन्त्रालयका अनुसार यो नियमले श्रमिकको करार अधिकार सुरक्षित गर्ने, साउदी अरबको श्रम बजारलाई आकर्षक बनाउने र श्रम नियमहरूको पालना सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

यो नियम अनुसार काममा अनुपस्थितको हैसियत भएका तीन थरीका श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाइनेछ । जसमा 'काममा अनुपस्थित' भई ६० दिनको ग्रेस पीरियड पाएका,  करार अवधि सकिएको वा करार तोडिएका र १८ सेप्टेम्बर २०२५ भन्दा अघि अनुपस्थित रिपोर्ट दर्ता गरिएका श्रमिक रहेका छन् ।

यसको लागि दुई सर्त राखिएको छ । जसमा नयाँ रोजगारदाताले  श्रम परमिट लगाउन लाग्ने सबै शुल्क तिर्ने प्रतिबद्धता जनाउनुपर्छ । ती श्रमिकहरू अघिल्लो काम छोड्नु अघि वा करार अवधि सकिनु अघि कम्तीमा १२ महिनासम्म लगातार साउदी अरबमा काम गरेको हुनुपर्छ ।

मानव संशाधन मन्त्रालयका अनुसार यो नियमले श्रम बजार सुधार गर्न निरन्तर चालिरहेको एउटा हिस्साको रूपमा आएको हो । यसले रोजगारदाता र श्रमिक दुवैका लागि न्यायपूर्ण समाधान दिने, नियमलाई पालना प्रोत्साहित गर्ने र साउदी अरबको श्रम बजारलाई थप प्रतिस्पर्धात्मक कार्य वातावरण सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।

साउदीमा नियमित तलब नपाउने, कम तलब पाउने र कार्यवातावरण नहुँदा कम्पनी छाड्ने गरेका छन् । साउदीमा कार्यरत नेपाली श्रमिकहरूले साउदीको नियमहरू व्यवहारिक रूपमा पालना गर्न श्रमिकलाई निकै कठिन हुने बताउँदै आएका छन् ।

मानवअधिकार संगठनहरुले साउदी अरबका ठूला आयोजनामा काम गर्ने श्रमिकको मृत्यु दर, अत्यधिक कामको समय, असुरक्षित कामका अवस्था लगायत विषयमा गम्भीर आलोचना गर्दै आइरहेका छन् । साउदीले श्रम सुरक्षा, महिला अधिकार, स्थानीय नागरिकको रोजगारी सुनिश्चित गर्न श्रम बजारमा व्यापक सुधार गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले सार्वजनिक गरेका प्रतिवेदनमाथि प्रश्न गर्ने गरेको छ ।

साउदी अरब र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच ‘मर्यादित श्रम सुधार’ को कार्यक्रम लागू गर्न सहकार्य भइरहेको छ ।

साउदीमा हाल चार लाख नेपालीले काम गरिरहेका छन् । कोभिड पछि साउदीले नेपाली श्रमिकको कोटा बढाउँदै गइरहेको छ ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully