इस्टु कार्कीको दसैं स्मृति : 'दक्षिणाजति बुबालाई ऋण तिर्न दिएँ'

अहिलेको दसैंमा बाल्यकालको जस्तो अनुभव अब हुँदैन, सायद जिम्मेवारी बढेर होला । त्यतिबेला त सानो कुराले खुसी दिन्थ्यो । अहिले त्यसरी खुसी हुन सकिएन कि !

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

Istu Karki's Dussehra memory: 'Dakshinaji gave my father to pay his debt'

What you should know

काठमाडौँ — बाल्यकालको दसैं त नयाँ लुगा र दक्षिणाको आसमै बित्थ्यो । त्यतिबेलाको दसैं आउँदाको अनुभव र अहिलेको अनुभव एकदमै फरक भइसक्यो । 

बच्चाबेलाको दसैंको उमंग, जोस र खुसी अहिले अनुभव गर्दिनँ । त्यतिबेला त दसैंमा मौसम परिवर्तन भएको पनि अनुभव हुन्थ्यो, अर्कै आनन्द हुन्थ्यो । 

त्यतिबेला पिङ खेल्न जाँदा एकदम रमाइलो हुन्थ्यो । आफ्नो पालो आउन धेरैबेर पर्खनुपर्थ्यो । झगडा नै गर्नुपर्थ्यो । एउटा गाउँमा पिङ बनाएको हुँन्थ्यो । सबैजना त्यही पिङ खेल्न आउँथे । बच्चालाई त हेपेर पालो दिइँदैन थियो, ठूलोहरुकै पालो आउँथ्यो । जसले आफ्नो बुबाआमा लिएर आएको हुन्छ, उनीहरुको पालो चाँडै आउँथ्यो । त्यसैले सबै बच्चाले बुवाआमा लिएर आउँथे । म सानैदेखि गाउँभन्दा पर बसेर पढेको, गाउँ/घरको मान्छेलाई धेरै चिन्दिन थिएँ । त्यसैले पिङ खेल्न अङ्कललाई लिएर गएको याद आउँछ । 

दसैं भन्नेबित्तिकै नयाँ लुगा पाइने भयो भन्ने हुन्थ्यो । एउटा दसैंमा बुवाले काठमाडौंदेखि स्वेटर ल्याइदिनुभएको थियो । त्यो स्वेटर मैले धेरै समयसम्म लगाएको थिएँ । दक्षिणा पनि हामी बच्चाले थोरै पाउने । अर्को वर्ष त बढ्ला भनेर पर्ख्यो, त्यतिको त्यति पाउने । दक्षिणाको महत्त्व बिर्सनेबेलामा चाहिँ बढ्यो । त्यतिबेला त दक्षिणा बटुल्न को धेरै ठाउँमा टीका लगाउन जाने भन्नेजस्तो होडबाजी नै चल्थ्यो । ठूलोबुवाले सबभन्दा धेरै दक्षिणा बच्चाहरुलाई दिनुहुन्थ्यो । उहाँले हामीलाई ५० रुपैयाँ दिनुहुन्थ्यो । त्यो नै सबैभन्दा धेरै दक्षिणा थियो । अरु आफन्तकहाँ जहाँ पनि ५ रुपैयाँ पाइन्थ्यो । 

म त मामाघरदेखि जताततै टीका थाप्न हिँड्थे । बुवा नजाने भन्नुभएको ठाउँमा पनि करैले लिएर जान्थेँ । दसैंको दक्षिणा जम्मा गरेर मैले बुवालाई ऋण तिर्न दिएको थिएँ । त्यतिबेला बुवाको ऋण थियो । हामीलाई जन्माउँदा आमा बिरामी पर्नुभयो । त्यतिबेला आमालाई अस्पताल राख्दा धेरै ऋण लागेको रहेछ । बुवाले हामी सानो हुँदा त्यो कुरा सुनाउनुभएको थियो । म त्यसै पनि कम खर्च गर्नेमै पर्थें, बच्चाहरुमा । त्यतिबेला मैले दक्षिणाको पैसा खुत्रुकेमा जम्मा गरेर ५ सय १ रुपैयाँ बुवालाई दिएको थिएँ । सायद त्यतिबेला म कक्षा ४ मा पढ्थें । त्यो पैसाले ऋण तिर्न त पुग्दैन थियो होला । तर, त्यसले बुवालाई सहयोग मिल्यो । 

दसैं भन्नु नै मेरो लागि फूपूदिदीसँगको भेट हो । दिदीले एकदमै माया गर्नुहुन्थ्यो । अनि सधैं दसैंमा उहाँ काठमाडौंदेखि हाम्रो घर आउनु हुन्थ्यो । दसैं भन्नेबित्तिकै फूपूदिदी भन्ने लाग्थ्यो । अहिले पनि म उहाँसँग टीका थाप्छु । 

अहिले पनि दसैं छ तर बाल्यकालको जस्तो अनुभव अब हुँदैन । सायद जिम्मेवारी बढेर होला । त्यतिबेला त सानो कुराले खुसी दिन्थ्यो । अहिले त त्यसरी खुसी हुन सकिएन कि ! अहिले त्यही ठाउँमा जाँदा पनि त्यही साथीहरु भेटिदैनन् । सबै कुरा परिवर्तन भएर पनि यस्तो अनुभव भएको हो कि ! अहिले त दसैंमा परिवारलाई समय दिऊँ भन्ने लाग्छ । 

- कन्टेन्ट क्रिएटर कार्कीसँग रीना मोक्तानले गरेको कुराकानी

कान्तिपुर

Link copied successfully