सुरुमा धेरै दक्षिणा दिनेकहाँ पुगिन्थ्यो, अनि मात्रै ५ र १० रुपैयाँ दिनेकहाँ ! पहिला ठूलो पैसा उठाइन्थ्यो, त्यसपछि सानोतिर लागिन्थ्यो ।
What you should know
काठमाडौँ — बाल्यकालमा त दसैं चाँचैचाँडै आइदियोस् जस्तो लाग्थ्यो । दसैं सकिएपछि मन उराठ हुन्थ्यो । अब त दसैं सकियो, अब कहिले आउला भन्ने हुन्थ्यो मनमा । हामी त गाउँतिर एकदमै रमाइलो गरेर दसैं मनाउँथ्यौं । अहिले त जिम्मेवारी बढ्यो ।
सानोबेला त दसैं भन्नेबित्तिकै लास्टै मनपर्थ्यो । पिङ, नयाँ लुगा । मेरो दसैंको सम्झना त लङ्गुरबुर्जा नै हो । लङ्गुरबुर्जा खेल्ने खेलाउने पनि गरियो । पैसा पनि कमाइन्थ्यो । कहिलेकाहीँ मात्र नकमाउने हुन्थ्यो । प्रायजसो त कमाउँथे । चोकमा त्यसरी लङ्गुरबुर्जा खेलाइरहँदा पुलिस आउँथे । हामी भागभाग गर्थ्यौं । अनि पुलिसले हाम्रो गोटीदेखि पैसा पनि लिएर जान्थ्यो । त्यसपछि निराश मुद्रामा बस्थ्यौं । अब फेरि माग्न जानुभएन । कहिले पुलिस आएको देखेर सबै सोहोरेर तुफान भाग्थ्यौं । अनि कहिलेचाहिँ पुलिसले च्याप्पै पक्रन्थ्यो । कतिचोटि खोसेर लग्थ्यो, कतिपटक लुकीलुकी खेलिन्थ्यो ।
अहिले त खेल्दिनँ त्यसरी । तर, पनि अरुले खेलेको देख्दा रमाइलो लाग्छ । मलाई त दसैं भन्नेबित्तिकै लङ्गुरबुर्जा नै खेल्ने हो भन्ने लाग्थ्यो । चङ्गा त काठमाडौं आएर देखेको । त्यो चङ्गा त हाम्रो समयजस्तो लाग्छ । अहिले त चङ्गा उडाउने पनि कम भयो । हाम्रो तराईमा त त्यतिबेला चङ्गा आफैले बनाएर उडाउँथ्यो । चङ्गामा केके लेख्थ्यौं, पुच्छर बनाउँथ्यौं । अनि चङ्गाको धागोबाट पातहरु स्वार्र माथि पठाउँथ्यौं । हात्ती छाप चप्पल काटेर लट्टाई बनाइन्थ्यौं, चङ्गा बनाउँथ्यौ । हामीले खेल्दा त पसलमा चङ्गा नै पाउँथेन । काठमाडौंको पसलमा चङ्गा पाएको देख्दा छक्क परेको थिएँ । लट्टाई पनि क्या गजब्बको बन्दो रहेछ भन्ने भएको थियो ।
दक्षिणाको फेरि बेग्लै कहानी छ । कहाँकहाँ टीका थाप्दा पैसा धेरै पाउँछ त ? सुरुमा त्यता ध्यान जान्थ्यो । पैसा धेरै दिनेतिर लगाव बढी । मामाघरमा टीका थापेपछि दिदीको मितबुबाकहाँ भाग्थेँ । उहाँले पनि दक्षिणा धेरै दिनुहुन्थ्यो । २५ रुपैयाँ दिनुहुन्थ्यो बुवाले त्यहाँ । सुरुमा धेरै दक्षिणा दिनेकहाँ पुगिन्थ्यो, अनि मात्रै ५ र १० रुपैयाँ दिनेकहाँ ! पहिला ठूलो पैसा उठाइन्थ्यो, त्यसपछि सानोतिर लागिन्थ्यो ।
खासमा दसैंका ती सम्झनाको भिन्नै स्वाद छ । अब त ती पल दोहोरिन्न, उमेरले नेटो काट्यो । सम्झना नै काफी छ । यो पटकको दसैं काठमाडौंमै बसेरै मनाउँदै छु । अहिले त दसैंमा खर्च हुन्छ, खर्च कहाँबाट जुटाउने भन्ने हुन्छ । आफूमाथि जिम्मेवारी थपिएपछि कसरी दसैं राम्रोसँग सम्पन्न गराउने भन्ने ध्यान हुँदो रहेछ ।
- अभिनेता कार्कीसँग रीना मोक्तानले गरेको कुराकानी
