रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारण राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किने गर्छन् ।
काठमाडौँ — दसैं भित्रिएसँगै काठमाडौंका सडक सुनसान देखिएका छन् । राजधानी उपत्यकामा रहेर पेसा व्यवसाय गर्दै आएकाहरु दसैं मनाउन आआफ्नो जन्मस्थान गएकाले काठमाडौं सुनसान बनेको हो ।
रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारण राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किने गर्छन् ।
निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताए ।
दसैँको घटस्थापनादेखि नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।
विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा दसैंका बेला बहिरिने यात्रुको भिड हुने गरेको छ ।
