चीनले थोरै कन्टेनर छाड्दा दसैंको सामान ल्याउन व्यापारीलाई हैरानी 

चीनले पार्किङ र मालवाहक रुट प्रोटोकलजस्ता कारण देखाएर केही दिनयता थोरै कन्टेनर छाड्न थालेपछि व्यवसायीले दुखेसो गरेका छन् ।

आश्विन १४, २०८२

अनिश तिवारी

When China left few containers, traders were disturbed to bring Christmas goods

सिन्धुपाल्चोक — दसैं दैलोमै छ तर उत्तरी नाका तातोपानीका व्यवसायीले दसैंतिहार लक्षित सामान समयमा भित्र्याउन सकेनन् ।

केही दिनअघि सडक खुलेपछि कन्टेनर भित्रने आस राखेका व्यापारी चीनले अनेक बहानामा न्यून कन्टेनर छाड्न थालेपछि आजित बनेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनको न्यालम, खासा र लिपिङ पारी झाङ्मु बजारमा रहेका झन्डै एक हजार कन्टेनर नेपाल भित्रन सकेका छैनन् ।

'यसअघि १८ देखि २५ कन्टेनर छाड्थ्यो भने आहिले दसैंको मुखमा झन् ६ देखि १० कन्टेनर मात्रै छाड्दा व्यापारी तनावमा छन्,' बस्नेतले भने, 'यसअघि लामो समय सडकका कारण कन्टेनर उतै रोकिएपछि समयमा सामान ल्याउन नसकेर व्यवसायी घाटामा जाने पक्का छ ।'

चीनले पार्किङ र मालवाहक रुट प्रोटोकलजस्ता अनेक कारण देखाएर केही दिनयता थोरै  कन्टेनर छाड्न थालेको व्यवसायीले दुखेसो गरेका छन् ।

यसअघि कोदारी राजमार्गको क‍ोदारी (इको) मा माथिबाट झरेको पहिरोले लामो समय अवरुद्ध रह्यो । गत भदौ ४, ५, ६ र ७ गरी चार दिन इकोमा पहिरो हटाएर  सडक चलाइएकामा फेरि बन्द भएको थियोे । त्यसयता धेरै दिनपछि मात्रै नाका चल्तीमा ल्याइएको बस्नेतले बताए ।

हाल चीनको ल्हासा, सिगात्से, न्यालममा पाँच सय कन्टेनर उताकै महँगो गोदाम पार्किङमा रोकिएका छन् । केरुङमा चार सय कन्टेनर थन्किएका छन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार गत साउन १७ मा अधिकांश फलफूलका कन्टेर भन्सार यार्ड प्रवेश गरेका थिए । 'यसअघि पनि फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाइएको थियो, सडकका कारण नाका सहज बनेन्,' व्यवसायी शारदाप्रसाद पराजुलीले भने । उनले आफ्नो कन्टेनरमा मात्रै आँप र ड्रागन फ्रुट गरी पाँच कन्टेनरमा फलफूल कुहिएको बताए ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully