काभ्रेका बाढीपीडित : सुरक्षित बासस्थानको पर्खाइमा बित्यो एक वर्ष 

२६ वर्षीय प्रकाश हुमागाई, सरस्वतीका एक्ला छोरा थिए । जो, १२ असोज २०८१ मा सधैंका लागि अस्ताए । भित्तेपात्रोमा असोज १२ गतेलाई हेरेर सरस्वती भन्छिन्, ‘जीवनकै कालो दिन, कसरी भुल्नु त्यो समय, त्यो पल ।’

आश्विन १४, २०८२

ज्योती श्रेष्ठ

Kavreka flood victims: A year passed in waiting for a safe shelter

काभ्रे — पनौती नगरपालिका–१२ कलाँतकी सरस्वती हुमागाईलाई बितेको एक वर्षमा छोरा प्रकाश हुमागाईलाई नसम्झेको कुनै पल छैन । १३ वर्षअघि क्षयरोगका कारण सरस्वतीले श्रीमानलाई गुमाइन् । त्यसयता प्रकाश नै उनका एक मात्र सहारा थिए ।

२०८१ असोज ११ देखि तीन दिन परेको निरन्तरको वर्षाले बाढी/पहिरो मात्र निम्त्याएन, सरस्वतीले जीवनको एक्लो सहारालाई पनि गुमाइन् । २६ वर्षीय प्रकाश हुमागाई, सरस्वतीका एक्ला छोरा थिए । जो, १२ असोज २०८१ मा सधैंका लागि अस्ताए । भित्तेपात्रोमा असोज १२ गतेलाई हेरेर सरस्वती भन्छिन्, ‘जीवनकै कालो दिन, कसरी भुल्नु त्यो समय, त्यो पल ।’

त्यस घटनालाई स्मरण गर्दै उनले भनिन्, ‘पोहोर साल असोज ११ देखि निरन्तर पानी परिरहेको थियो, हामी बसेको ठाउँ सुरक्षित नभएपछि छोराले गाउँकै सुरक्षित स्थानमा राख्यो र भन्यो, छिमेकी आन्टी बिरामी हुनुहुन्छ, उहाँलाई लिएर आउँछु, तपाईँ यहीँ बस्दै गर्नुस् है भनेर गएको थियो, रातिको १ बजेपछि प्रकाशको फोन लागेन, अब छोरा ज्युँदो छैन भन्ने लागिसकेको थियो, जीवित नै छ कि भन्ने आश पनि थियो, छोराको पखाईमा रात जसोतसो कट्यो, १२ गतेसम्म पनि पानी परिरहेकै थियो, ४ बजेपछि पानी हल्का कम भएपछि खोजी कार्य भयो, जहाँ दुई जना जीवित र दुई मृत अवस्थामा भेटिए, मृत अवस्थामा भेटिएकोमध्ये प्रकाश पनि थियो ।’

Kavreka flood victims: A year passed in waiting for a safe shelterप्रकाश जसलाई बचाउन गएका थिए, उसलाई बचाए, तर आफू भने बचेनन् । बाढीपहिरोले सरस्वतीले आफ्नो सहारा, बासस्थान सबै गुमाइन् । कलाँतीमा प्रकाशको सम्झना बाहेक सरस्वतीसँग अरु केही बाँकी छैन् । त्यसदिनदेखि उनी एक्ली भएकी छिन् । छोरा गुमाएको बियोगले उनी महिनौदिनसम्म थला परिन् । ज्यानलाई केही सन्चो भएपछि पनौती नगरपालिका ८ स्थित मल्पीमा डेरा गरी बस्दै आएकी छिन् ।

‘कलाँतीमा अब केही छैन, त्यस बस्ने बास पनि रहेन, अहिले मल्पीमा महिनाको २ हजार रुपैया तिरेर डेरा गरी बस्दै आएको छु,’ उनले भनिन्, ‘घर बनाउन सक्ने स्थिति पनि छैन, आफूसँग भएको जग्गामा घर बनाउन मिल्दैन रे, बाढीपहिरोको जोखिम छ, अरु ठाउँमा जग्गा पनि छैन, घर बनाउन सरकारले राहत त दिन्छ भनेको छ, राहत आए पनि कहाँ र कसरी घर बनाउने, सुरक्षित स्थानमा जग्गा किनेर घर बनाउनको लागि पैसा छैन ।’ उनलाई अहिले चिन्ताले पिरोल्ने गर्छ । त्यही चिन्ताले उनलाई बेला–बेलामा बिसन्चो बनाउँछ । 

सरकारले बाढीपहिरोले उठीबास बनाएका प्रभावितलाई अस्थायी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । तर धेरैजसो प्रभावितलाई त्यही रकमले टहरो हाल्न पनि सुरक्षित ठाउँ छैन । रोशीको बाढीले घर गोठ, कृषि फार्म, पसल केही बाँकी नराखेका पनौती–१२ महभीरका राजेन्द्र श्रेष्ठ केही दिन आफन्तसँग बसेर करिब १ वर्षदेखि बनेपामा कोठा भाडामा लिएर बस्दै आएका छन् ।

‘बाढीपहिरो दुवैको जोखिममा त्यहाँ कसरी बस्न सकिन्छ ? महिनाको १५ हजार भाडा तिरेर बनेपामा बस्नु परेको छ,’ उनले भने, ‘सरकारले दिएको पैसाले न अन्त सर्न सकिन्छ, पुरानो ठाउँमा माथि पहिरो त तल बाढीको जोखिम छ ।’ यहाँ सञ्चालित खानी तथा क्रसर उद्योगबाट निस्कने बस्तु सिधै खोलामा हाल्ने काम हुँदा पनि जोखिम कम हुन नसकेको उनले सुनाए ।

भत्किएकै घरलाई टालटुल गरेर बसोबास

बेथानचोक गाउँपालिका २ शिरचौरका ७६ वर्षीय गोपीलाल सापकोटा भन्छन्, ‘जसोतसो टालटुल गरेर बस्ने बास बनायौं, अहिलेको लागि टालटुल जेनतेन गरेर बस्ने बासको व्यवस्थापन भयो ।’ आफ्नो पुर्ख्यौली थातथलो छाँडेर गोपीलाल जान मान्दैनन् । त्यसकारण पनि पहिरोले लडाएको घरलाई टालटुल पारेर उनी त्यहीँ घरमा बस्दै आएका छन् । 

पहिरोले घरमा क्षति पुर्‍याउनु अघि परिवारसहित सुरक्षित स्थानमा बसे । बाढी/पहिरोपछिको २/३ महिनासम्म आफन्तको शरणमा पुगेको उनले बताए । ‘सधैं आफन्तको शरणमा बस्न पनि मिलेन, यहीँ घरलाई मर्मत गरेर बस्यौं,’ उनले भने, ‘योबाहेक अरु विकल्प पनि थिएन, हामीसँग भएको जमिनमा पहिरोको जोखिम छ, सामान्य खेती किसान गर्नेले अर्को ठाउँमा जग्गा किनेर घर बनाउन सक्ने अवस्था छैन ।’

Kavreka flood victims: A year passed in waiting for a safe shelterअस्थायी टहरा बनाउनको लागि सरकारले उपलब्ध गराएको २५ हजार रकम पाएर जसोतसो सानो टहरा बनाएको उनले बताए । पुर्ख्यौली घर छोडन्् मन नलागेन यहीँ बसिरहेको उनले सुनाए । ‘त्यो टहरा पनि आफ्नो जमिनमा बनाएको भने होइन,’ उनले भने, ‘केही समयको लागि बस्नको लागि भनेर मात्रै बनाइयो, ठूलै पानी परेको बेलामा यहाँ त बस्न मिल्दैन, त्यहीँ भएर त्यहाँ एउटा सानो टहरा बनाएका छौं, अब सरकारले घर बनाउनको लागि पैसा दिए पनि हामीसँग जग्गा नै छैन ।’

यस्तै समस्या बेथानचोक–२ कोलकाटेका गोकर्णप्रसाद (नवराज) तिमल्सिना पनि छ । पहिरो उनको घर पूर्णरुपमा क्षति भएको छ । आफूसँग भएको जमिन पहिरोको जोखिममा रहेकाले पुनर्निर्माणको कामलाई कसरी गर्ने भन्ने अन्यौल्ता छ उनलाई । सोही अन्योलका कारण पनि लाभग्राहीको सूचीको फार्म आफूले नभरेको उनले बताए । उनका अनुसार, सरकारले रकम उपलब्ध गराए पनि घर बनाउने स्थान छैन । कहाँ र कसरी घर बनाउने भन्ने अन्यौलताका कारण उनले फाराम नै भरिनन् । 

२०८१ असोजको पहिरोपछि उनी ७४ वर्षीया आमासहित बनेपामा डेरा गरी बस्दै आएका छन् । ‘पहिरोले घर जाने जोखिम भएपछि ज्यान त जोगायौं, कहाँ जाने, कसरी बस्ने भन्ने भयो,’ उनले भने, ‘आफू त जसो–तसो बसौला, बूढ्यौली उमेरकी आमालाई कहाँ राख्ने भन्ने भएपछि आमासहित बनेपामा डेरा गरी बस्न थाल्यौं ।’

गत वर्षको असोजको ११ र १२ गतेको वर्षापश्चातको बाढी र पहिरोको जोखिमले रोशी गाउँपालिका १० वाल्टिङका कान्छा लामाको परिवारलाई बिस्थापित गराएको छ । कान्छाका आमा, ५ जना दाजुभाइको परिवार गरेर २३ जनाको संयुक्त परिवार छ । पहिरोले घर ध्वस्त बनाएपछि बस्ने बास नभएकाले कान्छा सहित २३ जनामध्ये २० जना अहिले काठमाडौंको विभिन्न स्थानमा बसोबास गर्छन् । ‘पहिरोले गाउँमा घर/गोठ केही बाँकी रहेन,’ उनले भने, ‘१ महिना जति आफन्तकोमा बस्यौं, गाउँमा बस्ने बास नभएपछि परिवारसहित हामी काठमाडौं झर्‍यौं, गाउँमा त अहिले आमा र दुई जना दाइ मात्रै हुनुहुन्छ ।’

उनका अनुसार अस्थायी आवास पुनर्निर्माणका लागि सरकारले प्रभावितलाई दिएको पहिलो किस्ता बापत २५ हजार रुपैयाँ लिएर गाउँमा एउटा सानो टहरा बनाएर आमा र दुई जना दाईहरु बसेका छन् । संयुक्त परिवार भएकाले त्यस टहरामा बस्न नसकिने उनले बताए । ‘गाउँमा हामीसँग सुरक्षित स्थामा जग्गा छैन,’ उनले भने, ‘जहाँ टहरा बनाएको छौं, त्यो ठाउँ पनि सुरक्षित छैन, पानी ठूलो पर्‍यो भने त्यहाँबाट पनि भाग्नुपर्छ, कहाँ र कसरी बस्ने भन्ने नै अहिले चिन्ताको विषय भएको छ ।’ 

गत वर्षको बाढी र पहिरोबाट काभ्रेको १३ वटा पालिकामध्ये बेथानचोक, रोशी, पनौती, तेमाल र नमोबुद्ध नगरपालिकामा धेरै मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार त्यो बाढीपहिरोमा परेर काभ्रेका ७९ जनाको मृत्यु, ८८ घाइते र ६ जना बेपत्ता भएका छन् । त्यस्तै, २ हजार ९ सय ७९ घर पूर्ण रुपमा क्षति भएको विवरण कार्यालयसँग छ । 

बाढीपहिरोले पूर्णरुपमा क्षति भएपछि हजारौं बेघर भएका छन् । केही आफन्तको शरणमा, केही डेरा गरी बस्दै आएका छन् भने केही जोखिम मोलेरै भत्किएको घरमा बस्दै आएका छन् । प्रभावितहरुलाई सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता अर्न्तगत २५ हजार रुपैयाँ उपलब्ध गराए पनिसुरक्षित स्थानमा अस्थायी बासको व्यवस्थापन भने गर्न सकेन ।

अस्थायी आवास निर्माणका लागि जिल्लाका १३ वटा पालिकाका ३ हजार १ सय २८ परिवारका लागि पहिलो किस्ताबापत ७ करोड ८२ लाख रुपैयाँ निकासा भएको प्रशासनको विवरणमा उल्लेख छ । त्यस्तै, जिल्लाको दुई पालिकाले भने दोस्रो किस्ता समेत उपलब्ध गराएका छन् । बेथाञ्चोक गाउँपालिकाका १ सय ९६ र रोशी गाउँपालिकाका ४ सय ६१ घर परिवारले दोस्रो किस्ता बापत १ करोड ६४ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको प्रशासनले जनाएको छ । 

गत वर्षको मनसुनजन्य विपतबाट काभ्रेका ३ सय ९५ वटा बस्ती उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, जिल्ला प्रहरी मातहत रहेका विभिन्न चौकीमार्फत जिल्ला विपद् व्यवस्थापन समितिले छलफल गरेर संकलन गरेको विवरण अनुसार बाढी र पहिरोबाट काभ्रेका १३ पालिकामा रहेका ३ सय ९५ वटा बस्ती जोखिममा परेको पहिचान भएको हो । पहिचान भए अनुसार जिल्लाका १३ पालिकामा रहेका ३ सय ९५ बस्तीका ६ हजार ३ सय ७५ घरधुरीका २३ हजार ४५ जना बाढीपहिरोबाट प्रभावित हुन सक्ने आंकलन गरिएको छ । विपद् समितिको तथ्यांक अनुसार १३ वटै पालिकामा बाढी र पहिरोको उच्च जोखिम देखिएको छ । काभ्रेमा सबैभन्दा बढी रोशीमा ५६ बस्ती तथा सबैभन्दा कम खानीखोलाको ९ बस्ती जोखिममा रहेको तथ्यांकमा उल्लेख छ । 

प्रभावितहरुको तथ्यांक, अवस्था र विवरण संकलन गर्ने काम भए पनि उनीहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न भने अझै सकेको छैन ।

प्रभावितहरुको विषयलाई सम्बोधन गर्दै २०८१ कात्तिक ५ मा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले बाढीपहिरोका कारण बस्न योग्य नभएको र स्थानान्तरण गर्नुपर्ने बस्ती पहिचान गरी विवरण पठाउन सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको ११ महिना बितिसक्दा पनि यस विषयमा सम्बन्धित निकायले कार्यान्वयनका लागि कुनै प्रक्रिया अघि बढाएको छैन ।

यस विषयलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक ताकेता गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार माथिल्लो निकायलाई पटक–पटक अनुरोध गर्दा पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully