जेन–जीको विद्रोहका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गर्दै उनीहरूलाई अनुमतिबिना उपत्यका बाहिर जान पनि रोक लगाइएको छ ।
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का भएको छ ।
त्यस्तै तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणाको घरमा छापा मारेर कागजात र उपकरण नियन्त्रणमा लिइएको छ ।
जेन–जीको विद्रोहका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गर्दै उनीहरूलाई अनुमतिबिना उपत्यका बाहिर जान पनि रोक लगाइएको छ । उनीहरू कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले उपत्यका बाहिर जान नपाउने प्रबन्ध मिलाउन सम्बन्धित निकायमा सिफारिस गरिएको आयोगले जनाएको छ ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन समयमा सत्तामा रहेकाहरूबाटै अनुसन्धान सुरु गर्नुपर्ने देखिएकाले यात्रा रोकका लागि सिफारिस गरेको बताए ।
‘आयोगले चाहेको समयमा उहाँहरूलाई उपस्थित गराउनुपर्ने हुन्छ । हामीलाई सरकारले जे कार्यादेश दिएको थियो, त्यहीभित्र रहेर निर्णय गरेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि उहाँहरू निर्दोष पनि हुन सक्नुहुन्छ ।’
जेन–जी आन्दोलनमा सहभागी समूहहरूले त्यति बेला सत्तामा रहेका प्रधानमन्त्रीदेखि जिम्मेवार अधिकारीलाई तत्काल पक्राउ र निलम्बन गर्न माग गरेका थिए । निलम्बन, पासपोर्ट रोक्का वा अरू कारबाहीका लागि सिफारिस गर्ने अधिकार जाँचबुझ आयोगलाई रहेको सरकारले जनाएको थियो ।
जाँचबुझ आयोगका एक सदस्यले पहिलो चरणमा पाँच जनाको हकमा निर्णय गरिएको र बिस्तारै अरूको हकमा पनि यस्तै निर्णय हुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन मन्त्रिपरिषद्का सबै सदस्य, सुरक्षा निकायका जिम्मेवार अधिकृतहरू छानबिनमा तानिने ती सदस्यको भनाइ छ । मन्त्रिपरिषद्ले २३ र २४ भदौका घटना जाँचबुझका लागि विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
समितिको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न भन्दै विज्ञसहितको जनशक्ति व्यवस्थाका लागि समेत गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आरजुका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा छापा मारेको हो । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानको क्रममा भूषणको घरमा खानतलासी गरिएको विभागले जनाएको छ । विभागको टोली प्रहरी संयन्त्रको सहयोगमा छापा मार्न घरमा पुगेको थियो । भूषण भने जेन–जी आन्दोलनअघि नै पारिवारिक भ्रमणका क्रममा विदेशमा छन् ।
‘अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिँदैन । सम्पत्ति आर्जनसँग जोडिएका विषयमा शंका गरिएका व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान जारी छ,’ विभागका एक अधिकारीले भने । दिदी आरजु र भिनाजु देउवाको आडमा भूषणले अर्बौं रुपैयाँका सार्वजनिक ठेक्कापट्टामा चलखेल गरेको आरोप लाग्दै आएको छ । वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुसँगै भूषणमाथि पनि शंका गरिएको थियो तर सत्ता र शक्तिको प्रभावका कारण दुवैमाथि निष्पक्ष अनुसन्धान हुन सकेको छैन ।
जेन–जी विद्रोहका बेला प्रदर्शनकारीले २४ भदौमा पूर्वप्रधानमन्त्री देउवा र आरजुको घरमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा घरमा जलेका नोट भेटिएका तस्बिर र भिडियो सार्वजनिक भएका थिए । विभागले उनीहरूमाथि यसअघि नै अनुसन्धान थालिसकेको छ ।
आगजनीका क्रममा घरभित्र अस्वाभाविक रूपमा पैसा भेटिएको/जलेको भिडियो र तस्बिर आएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पनि विभागको अनुसन्धानमा तानिएका छन् ।
विभागले देउवा, दाहाल र खड्काको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ । घटनास्थलबाट संकलन गरिएका सबुद प्रमाण विधि विज्ञान प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ । ‘अनुसन्धानका विभिन्न चरण हुन्छन्, जलेका नोटको विवरण संकलन गरेर प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । शंका लागेका व्यक्तिमाथि पनि एकसाथ अनुसन्धान भइरहेको छ,’ विभागका अधिकारीले भने ।
