दसैंमा कर्णालीको कोसेली स्याउ र ओखर

दसैंका लागि कर्णालीबाट बाहिरिनेहरूले मार्सी चामल, फापर, कोदो, कागुनो, चिनोलगायत उत्पादन लैजाने गरेका छन् । तर सबैभन्दा धेरै स्याउ, ओखर र सिमीको माग उच्च छ ।

आश्विन १३, २०८२

कृष्णप्रसाद गौतम

Koseli apples and walnuts of Karnali during Dasain

सुर्खेत — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का स्थायी बासिन्दा हेमकुमार श्रेष्ठ जुम्लामा एक गैरसरकारी संस्थामा कार्यरत छन् । उनले दसैं बिदामा घर जाँदा गत शुक्रबार झन्डै ५० किलो स्याउ, ५ किलो ओखर र १५ किलो सिमीको दाल कोसेली लिएर गए ।

‘अरू किनमेल त उतै गरौँला, दसैंमा कर्णालीको कोसेली त छुटाउनु भएन,’ सुर्खेत विमानस्थलमा भेटिएका उनले भने, ‘सात वर्षदेखि दसैं बिदामा जाँदा यी तीन चिज कहिल्यै छुटाउँदिन, आफन्तलाई जति सकिन्छ कोसेली दिने हो ।’

जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी जवान नरेश केसीले पनि बर्सेनि दसैं–तिहारको घरबिदामा जाँदा हुम्लाको स्याउ र ओखर कहिल्यै छुटाउँदैनन् । ३ वर्षदेखि हुम्लामा कार्यरत उनी गुल्मीको इस्मा गाउँपालिकाका बासिन्दा हुन् । ‘यसपालि गाडीबाट आएकाले स्याउ मात्रै दुई क्विन्टल ल्याएँ,’ वीरेन्द्रनगर बसपार्कमा भेटिएका उनले भने, ‘आफन्त र छरछिमेकीलाई कोसेली दिन ओखर, सिमी, चिनो र कागुनो पनि ३/४ किलो ल्याएको छु ।’

दसैंका लागि कर्णालीबाट बाहिरिनेहरूले मार्सी चामल, फापर, कोदो, कागुनो, चिनोलगायत उत्पादन लैजाने गरेका छन् । तर सबैभन्दा धेरै स्याउ, ओखर र सिमीको माग उच्च छ । भारतीय र चिनियाँ स्याउ र ओखरभन्दा सस्तो, स्वादिलो र भण्डारण गर्न सजिलो भएपछि सबैको रोजाइमा परेको व्यवसायीहरू बताउँछन् ।

‘कर्णालीबाट आउनेले आफन्त र परिवारका लागि ल्याउँछन् नै,’ नेपालगञ्ज धम्बोझीस्थित कर्णाली एग्रो कम्पनीका सञ्चालक रतनबहादुर रावलले भने, ‘हामीले व्यावसायिक रूपमा कर्णालीका उत्पादनलाई विभिन्न ठाउँ पठाइरहेका छौँ ।’ दसैंका लागि एक साताको अवधिमा झन्डै १० ट्रक स्याउ काठमाडौं, बुटवल, विराटनगर, हेटौंडा र पोखरामा पठाएको उनले जानकारी दिए । उनका अनुसार प्रतिकिलो १ सय ५० रुपैयाँ होलसेल मूल्यमा कर्णालीको स्याउ पठाएको हो । उनले झन्डै २० क्विन्टल ओखर र ३०० क्विन्टल सिमी पनि विभिन्न सहरमा पठाएको जानकारी दिए ।

Koseli apples and walnuts of Karnali during Dasain

सुर्खेतस्थित कर्णाली कोसेली मार्टले पनि एक साताको अवधिमा करिब १० ट्रक स्याउ, ३० क्विन्टल ओखर र ५०० क्विन्टल सिमी बाहिर पठाएका छन् । उनले थोक मूल्यमा १ हजार रुपैयाँ प्रतिकिलो ओखर र सिमी १ सय ५० रुपैयाँमा काठमाडौं, पोखरा र बुटवल पठाइएको जानकारी दिए । ‘कर्णालीको सबैजसो उत्पादन अर्गानिक छ, देशभरिबाटै माग आउँछ, माग धान्नै गाह्रो छ,’ उनले भने, ‘उत्पादन ठूलो परिणाममा भए पनि ग्रामीण क्षेत्रसम्म सडकको पहुँच नहुँदा ढुवानीमा समस्या छ ।’

सुर्खेतबाट काठमाडौं फर्किँदै गरेका भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पृथ्वी निर्माण कम्पनीका सञ्चालक देवकुमार श्रेष्ठले दसैंमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ सजिलो भएको बताए । उनले घर फर्किँदा ५० किलो स्याउ लिएर गएका छन् । उनका अनुसार अर्गानिक भएकाले कर्णालीको स्याउ स्वादिलो र रसिलो हुने बताए ।

वीरेन्द्रनगरस्थित कट्टेल होलसेल तरकारी बिक्री केन्द्रका सञ्चालक भूपेन्द्र कट्टेलले यो सिजनमा आफूले झन्डै ५ मेट्रिक टन स्याउ बिक्री गरेको बताए । उनको पसलमा अहिले पनि झन्डै एक मेट्रिक टन स्याउ मौज्दात छ । उनका अनुसार यो वर्ष कर्णालीको स्याउले भारतीय र चिनियाँ स्याउलाई जितेको बताए ।

‘बाहिरबाट आएको स्याउभन्दा स्थानीय स्याउको व्यापार अहिले त पाँच गुणा बढी नै छ,’ उनले भने, ‘एक महिनायता भारतको स्याउ आएकै छैन ।’ उनका अनुसार स्थानीय स्याउ १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । हुम्लाबाट पहिलोपल्ट गाडीमा आएको स्याउ सबैको रोजाइमा परेको उनले बताए । झन्डै तीन महिनाअघि मात्र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । अत्यधिक चिसो ठाउँमा फलेकाले बढी स्वादिलो र दाना ठूलो भएकाले हुम्लाको स्याउको माग बढेको उनी बताउँछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा ८ हजार २ सय ४९ हेक्टरमा स्याउ उत्पादन भएकोमा २९ हजार ७ सय ६१ मेट्रिक टन स्याउ उत्पादन भएको छ । त्यसमध्ये करिब २६ हजार मेट्रिक टन स्याउ बजारमा आइसकेको मन्त्रालयको तथ्यांक छ । कर्णालीभरि करिब १ हजार २ सय ४ हेक्टरमा ओखर खेती गरिएको छ । जसबाट गत वर्ष झन्डै १४ सय मेट्रिक टन ओखर उत्पादन भएको थियो । यो वर्ष पनि त्यही हाराहारीमा ओखर उत्पादन भएको मन्त्रालयको अनुमान छ । स्याउ बगैँचामै ओखर लगाइने भएकाले कर्णालीका किसानले ओखरबाट पनि राम्रो फाइदा गरिरहेका छन्, कृषिविज्ञ नवीन शर्माले बताए । उनका अनुसार गुणस्तरीय बिरुवा, प्रांगारिक मलखाद व्यवस्थापन र जैविक विषादीको अधिकतम उपभोगमार्फत ओखरको उत्पादन बर्सेनि बढिरहेको छ ।

कर्णालीको स्याउले पहिचानसँगै किसानलाई क्रमशः आत्मनिर्भर बनाइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए । ‘अर्गानिक कृषिलाई अभियानकै रूपमा सञ्चालन गरी किसानलाई खेती, उत्पादन र बजारीकरणसँग जोडिरहेका छौँ,’ उनले भने, ‘जसका लागि यो वर्ष मात्रै ३ अर्ब रुपैयाँ छुट्याइएको छ, स्याउलाई अन्तर्राष्ट्रिय स्तरसम्म ब्रान्डिङ गर्ने हाम्रो योजना हो ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully