घर चम्काउन कस्तो रङ लगाउने ?

घरको डिजाइनले पनि कस्तो रङ लगाउने भन्ने निर्धारण गर्छ । घर होस् वा कोठा रङको सही तालमेल मिले सुन्दर र आकर्षक देखिन्छ ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

What color to make the house shine?

काठमाडौँ — चाडबाड सुरु भएसँगै घरलाई सफासुग्घर गर्ने, रङ लगाउने चलन छ । वर्षाले घर वरिपरि लेउ लाग्छ, झारपात पलाउँछ र घरको रङ खुइलिन्छ । धेरैले घरलाई यतिबेला रङरोगन गर्छन् । रङरोगन गरेपछि घरलाई नयाँपन दिन सकिन्छ । 

ज्योतिषी शिवराज रेग्मीका अनुसार प्रकृतिमा देखिने रङले हाम्रो मस्तिष्कमा प्रभाव पारिरहेको हुन्छ । कुनै पनि घरलाई हेर्दा त्यहाँ लगाइएको रङले सकारात्मक र नकारात्मक ऊर्जा दिन्छ । वास्तुअनुसार रङ लगाउँदा घरमा सकारात्मक ऊर्जा प्राप्त हुने उनी बताउँछन् । किनभने रङले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । ज्योतिष शास्त्रमा रङलाई ग्रहहरूका आधारमा चयन गरिएको उनले बताए । ‘मानिसको जुन ग्रह शुभ भएर बसेको छ, त्यही ग्रहको रङ प्रयोग गरे सकारात्मक सोचको विकास हुन्छ । घरमा ग्रहअनुसारको रङ निर्धारण गरे ऊर्जा, सुख, शान्ति एवं समृद्धि मिल्छ,’ उनले भने ।

घरको डिजाइनले पनि कस्तो रङ लगाउने भन्ने निर्धारण गर्छ । घर होस् वा कोठा रङको सही तालमेल मिलेमा सुन्दर र आकर्षक देखाउन सकिन्छ । अहिले नेपाली बजारमा विभिन्न प्रकारका रङ पाइन्छन् । रङ लामो समयसम्म टिक्ने, स्वास्थ्यमैत्री र वातावरणमैत्री छनोट गर्नुपर्छ । 

क्रिम र ब्राउन 

यी दुई रङ घरका लागि सबैभन्दा उचित र सुन्दर संयोजन हुन् । ब्राउन रङमा चकलेट ब्राउन, हनी ब्राउन वा वालनट ब्राउन पाइन्छ । आफ्नो इच्छा र घरको डिजाइनअनुसार ब्राउन रङसँग क्रिम रंगको संयोजन मिलाउन सकिन्छ । ब्राउन रङलाई धेरै गाढा नदेखाउन क्रिम रङको प्रयोग गर्नुपर्छ । यसले घरलाई आकर्षक देखाउँछ ।

ब्लु र व्हाइट

निलो रङको सेड्स सेतो रङसँग मिल्छ । निलो रङले शीतल र तनाव कम गराउन मद्दत गर्छ । सेतो र निलो रङको संयोजन घरका लागि सबैभन्दा उपयुक्त हुन्छ । बंगला वा कटेज स्टाइलको घरमा यो रङ एकदमै सुहाउँछ । 

यल्लो र ब्राउन

यी दुई रङको संयोजन घरको बाहिरी आवरणका लागि एकदमै उचित हुन्छ । गाढा ब्राउन रङ भने ढोका, झ्यालको फ्रेममा प्रयोग गर्न सकिन्छ । पहेंलो रङको हल्का टचले पनि घरलाई आकर्षक देखाउन सहयोग गर्छ । खासगरी कटेज स्टाइलको घर र बगैंचासहितको घरमा यो रङ एकदमै सुहाउँछ ।

ग्रे, सेतो र ओरेन्ज 

न्युट्रल रङ र सेतोसँग ओरेन्ज रङको संयोजनले घरलाई नयाँ लुक दिन्छ । यी रङको संयोजन विशेषगरी मोर्डन घरहरूमा राम्रो देखिन्छ । यी रङले घरलाई ताजगी दिन्छन् । ओरेन्ज रङ घरको कुनै–कुनै हिस्सामा मात्र लगाउनुपर्छ । सेतो र ग्रे रङको बढी प्रयोग गर्नुपर्छ । ओरेन्ज रंगले खुसी फैलाउँछ । 

ओलिभ ग्रिन र सेतो

न्युट्रल रङ सेतोमा ओलिभ ग्रिनजस्तो हल्का रङ घरको बाहिरी सजावटका लागि राम्रो हुन्छ । विशेष लुक दिनका लागि यी रङको संयोजन रोज्न सकिन्छ । घरलाई फरक देखाउनका लागि यो रङले घरलाई रंगाउन सकिन्छ । 

अफ व्हाइट 

सेतो र सेतो रङको सेड्स धेरैले प्रयोग गर्ने रङ हो । यो क्लासिक रङ अन्य जुनसुकै रङसँग संयोजन मिलाउन सकिन्छ । सेतो रङ साधारण घरदेखि मोर्डन सबै प्रकारको घरमा सुहाउँछ । यो रङले घरलाई विशेष देखाउँछ । 

ग्रे र सेतो 

हल्का होस् वा गाढा ग्रे रङ घरका लागि एकदमै राम्रो विकल्प हो । यो रङ सेतोबाहेक ओरेन्ज, हरियो रङसँग संयोजन मिलाउन सकिन्छ । ग्रे रङ धेरैको रोजाइमा पर्ने गरेको छ । साइडिङका लागि हल्का रङ र ट्रिमका लागि हल्का ग्रे रङको छनोट गर्न सकिन्छ । गाढा रङले घरलाई क्लासिक र आलिशान लुक दिन्छ । 

सही रङ छनोटका फाइदा 

कान्तिपुर

Link copied successfully